लजमा खाना खाइसकेपछि हाम्रो फर्किने यात्रा सुरुभयो । हाम्रो योजना अनुसार त्यस दिन हामीलाई घान्द्रुकसम्म पुग्नु थियो । पहिले एकछिन त्यहिँ उकालो चढ्नु पर्ने रहेछ । हिउँको समुद्र थियो त्यहाँ । मान्छे खासै नहिँड्ने भएकाले हिँऊ पनि सफा थियो । माछापुच्छ्रे र निलगिरी अझै राम्ररी देखिन थालेका थिए । डाँडाको टुप्पामा पुग्नु अघि नै हाम्रो भेट फेरी ती चिनिंया पर्यटकहरुसँग भयो । केहिबेर मै हामीले उनीहरुलाई भेट्टाएका थियौं । कुहिरोले पहाडको फेदितिर खासै नदेखिए पनि माथि खुल्ला थियो । दृश्य निकै मनोरम थियो । चिनिंया पर्यटकहरु पनि हरेक कोणबाट फोटो खिच्दै थिए । ति हाम्रा हरिता डाँडाकाँडा र सेता हिमालहरु निर्बस्त्र थिए र ति पर्यटकहरु आफ्ना आँखा र क्यामराले तिनको भोग गरिरहेका थिए । कताकता झोंक चलेर आयो । आफ्नै चेलिबेटिमाथि पापीले नजर लगाए जस्तो । अनि फेरी दु:ख पनि लागेर आयो । देश बिदेशका पर्यटक यहाँ आइसक्दा पनि स्वदेशमै रहेर हामीलाई त्यहाँ पुग्न किन ढिला भयो ? मैले जवाफ भेट्टाउन सकिनँ । अनि लाजले ति हिमाल पहाडका अगाडि शिर झुकाएँ ।
डाँडामाथि पुगेपछि केहिबेर तेर्सो बाटो हिँडियो । हामीले घान्द्रुकबाट घोरेपानी आउँदै गरेका अन्य पर्यटकलाई पनि भेट्यौं । कोहि युरोपका थिए, कोहि अस्ट्रेलियाका । सामान्य ‘नमस्कार’ मा कुरा सिमित राखेर हामी अघि बढ्यौं । अनि बिस्तारै ओरालो सुरुभयो । लन्डनबाट पर्यटक लिएर आएका एक गाइडले हामीलाई सुझाव दिएका थिए – जुत्तामाथि मोजा लगाउनुहोस्, हिउँमा चिप्लिइन्न । तर हामी कसैले मानेनौं । अलि अलि पनि नचिप्लिए त के मजा भो र! म भनें ओरालोमा गुटुटु एकैचोटि तल पुग्थें । पछाडि साथीहरु सुस्त रुपले मानव साङ्लो (एकले अर्काको हात समाएर) बानाएर झर्थे, चिप्लिने डरले । वनको बाटो थियो । रुखका चेपबाट सूर्यको किरण छिरेका थिए । ठाउँठाउँमा भएका घरहरुको छतमा हिउँको थुप्रो लागेको थियो र छेउछाउबाट बरफ बन्दै पग्लदै पनि थियो । क्षणक्षणमा झरना र खोल्साहरु आउँथे । हिँउले बरफ बनेर भाला जस्ता आकार लिएका थिए । यिनलाई मैले टिभीमा मात्र देखेको थिएँ, आज आफ्नै अगाडि देख्ने सौभाग्य पाएँ । बडो नौलो लाग्यो मलाई ।
यसरी नै हिँड्दै जाँदा आचार्य र म केहि अगाडि आइसकेछौं अरुभन्दा । एउटा चौतारो जस्तो आएपछि अरुलाई कुर्ने निर्णय गर्यौं । छेवैमा सानो खहरे खोलो बग्दै थियो । किनारमा ढुङगाको साइज मिलाएर चाङ लगाएर राखिएको थियो । बच्चामा ‘पिट्टु’ भन्ने खेल खेल्दा मिलाए जसरी । यस्ता चाङ धेरै थिए । कुनैमा ढुङ्गाको सङ्ख्या थोरै थियो त कुनैमा धेरै । कोलम्बियाका एक पर्यटकले अर्को एउटा चाङ थपेर गए । चौतारोमा बसेर साथीहरुलाई कुर्न खोज्दा गोजीबाट फुत्त मोबाइल खसेर हिउँले छोपेको भुईँमा बजारियो । हतार हतार टिपेर हेर्दा ‘स्क्रिन’ गइसकेछ । बनीहाल्छ कि भनेर अनेक प्रयास गरें, फेरी दुई-तीन चोटि त आफैंले खसालें । तर बनेन । सायद अघिल्लो दिन त्यो झोलुङ्गे पुलबाट एक-दुई रुपिँयाको सिक्का खसाल्न पाएको भए मेरो मोबाइल झर्ने थिएन होला । मन खिन्न भयो । यतिन्जेलमा साथीहरुले हामीलाई भेट्टाइसकेका थिए । दुखी मन लिंदै भएपनि म अघि बढें । हामीले धेरै किसिमका बाटो हिँड्यौं । कहिले सुख्खा बाटो, कहिले धुले बाटो, कहिले हिउँले पुरिएको बाटो, कहिले हिउँ पग्लेर बनेको हिलो बाटो त कहिले हेर्दा बाटो जस्तो पनि नदेखिने बाटो । अनि पुग्यौं टाढापानी ।
त्यहाँ केहिबेर विश्राम लियौं । हाम्रो यात्रा सुचारु गरेर २०-३० मिनेट हिँडिसकेपछि पो एक भारी घाँस लिएर फर्कंदै गरेका दाजुले हामी गलत बाटो आएको जानकारी दिए । अनि फर्कियौं उहि बाटो । यसपाली भने पाण्डेले जिपिएस खोल्यो र हराउने मौका लिएन । बाटोमा हिउँ जमेको खुला ठाउँ थियो । हामीले त्यहाँ पनि हिममानव बनायौं । यसपाली भने आँखाको रुपमा ‘डाइजिन’ नामक औषधी राखिदियौं । बाटो ठाडो खुड्किले ओरालो रहेछ । सरासर हिँड्दै जाँदा चालिसे र डङ्गोल पछि परेको पत्तै पाइएन । निरौलाको खुट्टामा सानो चोट लागेपछि पो दुई जाना साथमा नरहेको चाल पायौं । आधा घण्टा, पौने घण्टा कुर्दा पनि नआएपछि चिन्ता बढ्न थाल्यो । फोन गर्न पनि नेटवर्क थिएन, फेरी त्यो उकालो चढ्ने हिम्मत पनि हामीमा थिएन । अन्त्यमा बाटो पत्ता लगाएर घान्द्रुक आउँछन् भन्ने विश्वासका साथ लाग्यौं घान्द्रुकतिर । हामीलाई भेट्टाइ पो हाल्छन् कि भनेर सुस्त सुस्त हिँड्यौं । निकै बेर पछि मोबाइलमा नेटवर्क आयो । म्यासेस पठाएका रहेछन् – ‘गल्तीले अर्को बाटो आइएछ, घान्द्रुकमा भेटौंला’ । अनि द्रुत गतिमा लागियो घान्द्रुक तिर ।
हामीहरु घान्द्रुक पुग्दा उनीहरु पहिले नै पुगिसकेका रहेछन् । छोटो बाटो परेछ उनीहरुलाई । दुई दिनको थकानले हामीलाई सताउन थाल्यो । साँझ पर्न पनि धेरै समय थिएन । त्यहिँ होटलमा खाना र बस्नको प्रबन्ध मिलायौं । घोरेपानीको जस्तो मीठो थिएन खाना । त्यै पनि भोक लागेको भएकाले मजाले खाइयो । दिउँसो खिचेको फोटोहरु हेरेर त्यस दिनको अन्त्य गर्यौं ।
क्रमश