बिहान ६ बजेतिर उठ्यौं । छिटो छिटो पोखरा पुगेर घम्नु थियो हामीलाई । छिटो गर्दागर्दै पनि लजबाट निस्कदा ७ बजिसकेको थियो । पोखरा जाने बस लाग्ने ठाउँ आधा घण्टा तल थियो रे! अघिल्लो दिन हेर्न नपाएको घान्द्रुक हर्दै ओरालो झर्यौं । हर्नै पर्ने ठाउँ त मैले खासै देखिनँ तर त्यहाँका घरहरुको बनोट, सरसफाई र खेतबारीका कान्ला कुन्ली साह्रै सुन्दर थिए । वातावरण शान्त थियो, हावा स्वच्छ थियो र बासिन्दा मिलनसार र सहयोगी थिए । ठाउँठाउँमा बस्तुभाउ चर्दै थिए । हिँड्दा हिँड्दै बस बिसौनी पनि आइपुगेछ । बस हिँड्नै लागेको सुचना पाएर चढयौं तर बस हिँडेन । दस मिनेट, बिस मिनेट हुँदै लगभग पौने घण्टा भएपछि मात्र बस गुड्न थाल्यो । बसमा धेरै जसो त नेपाली नै थिए, पर्यटकको नाममा एउटी युवती मात्र थिइन् ।
बस घुमाउरो बाटो हुँदै जाँदै थियो । बाटोमा थुप्रै पर्यटकहरु पनि देखिए । पोखरा पुग्न लगभग तीन घण्टा लाग्छ भनेका थिए, त्यसैले बसभित्र आरामले बसियो । बाहिरको दृश्य हेर्दै जाँदा समय कटेको पत्तै पाइएन । पहिलो दिन उल्लेरी र घान्द्रुक जाने बाटो छुट्टिएको ठाउँ पनि आइपुगि सकेछ । एकैछिनमा नयाँपुल पनि आइपुग्यो । ती एकल पर्यटक त्यहिँ उत्रिन् । राजमार्गमा गति पकड्यो हाम्रो गाडिले । तर केहि पर पुग्ने बित्तिकै नास्तालाई विश्राम लियो । गाडि गुड्दै जाँदा एउटा सेतो पानी भएको खोला आयो । सो खोला तरेपछि पोखरामा प्रवेश गरेको जानकरी एउटा बोर्डले दियो । पोखराका विभिन्न ठाउँहरु पार गर्दै बाग्लुङ्ग बसपार्क आइपुग्यौं । त्यहाँसम्म मात्र जाने रहेछ बस । पैदल लाग्यौं लेकसाइड तिर । ठूलो ठूलो झोला भिरेर हिँडेको देखेपछि होटलवालाहरुको काम सुरु हुँदो रहेछ । एकजाना मोटरसाइकलमा आएर आफ्नो होटलको विवरण सुनाए । प्रतक्ष अबलोकनकालागि निरौला उसकै दुई पाङ्ग्रेमा गयो । उनीहरु गएको केहिबेरमै अर्को होटलवाला त्यसैगरी आइपुग्यो । हामीलाई आफ्नो फोन नम्बर दिएर गयो । निरौला भएको होटलमा पुग्दा उसले खानाको पनि अर्डर दिइसकेछ । खै किन हो चालिसेलाई चित्त बुझेनछ । अनि हामी सबै निस्कियौं त्यो होटलबाट अर्डर गरेको खाना पनि कटाएर । होटलवालालाई रिसले चुर बनाउँदै ।
दोस्रो होटलवालाकामा गयौं । काठमाडौं जाने बसको टिकट पनि उसैले काटिदियो । अर्को दिनको बिहानीपख छुट्टने रहेछ गाडि – ‘टुरिष्ट बस’ । उसैलाई नजिकैको घुम्ने ठाउँहरू सोध्यौं । डेभिज फल्स् र गुप्तेश्वर गुफाको सल्लाह दियो । पोखरा ठाउँ हामी कसैलाई थाहा थिएन । होटलवालाका अनुसार त्यहाँबाट दुईटा गाडि फर्नु पर्थ्यो रे! पत्याएर पहिलो गाडिमा चढ्यौं । चढेको एकै छिनमा उत्रने ठाउँ आइसकेछ । फेरी दोस्रो गाडि चढयौं । फेरी परी चढ्नै नपाइ गन्तव्य आयो । त्यसपछि चैं पोखरा निकै सानो रहेछ जस्तो लाग्यो । पहिले डेभिज फल्स् तिर लागियो । टिकट पनि किनियो । कल्पना त गरेको थिएँ डेभिज फल्स् निकै ठूलो होला । तर मेरो कल्पना जस्तो मैले कत्ति पनि पाइनँ । त्यहाँ त सानो धारो जस्तो पानीको फोहोरा मात्र थियो, सुपरमार्केटतिर राख्ने खालको । सायद वर्षाको मौसममा आउनुपर्थ्यो डेभिज फल्स् हेर्न । त्यस ठाउँमा समय खर्चन मन लागेन । गुप्तेश्वर तिर लाग्यौं । त्यहाँ पनि टिकट काट्यौं । त्यो गुफा पनि मैले सोचे जस्तो पाइनँ । गुफाभित्र गुप्तेश्वर माहादेवको मन्दिर थियो अनि गुफाको अन्त्यतिर उहि डेभिज फल्स आइपुगेको थियो । गर्मीले निसासिएर म भने छिट्टै बाहिर निस्कें ।
पेटमा मुसा कुद्न थालिसकेका थिए । एउटा पसलमा पसेर चाउमिन र मम मगायौं । साहुनीले पकाउनै ढिला गर्दिरहिछिन् । आफ्नो भने आन्द्रै छिन्न लागिसकेको थियो । बल्लतल्ल आयो हाम्रो खाजा । बनेको त मीठै थियो तर मात्रा भने कम थियो हुनु पर्ने भन्दा । तर पैसा लिने बेला चैं पुरै लिइन् साहुनीले । यसरी ठगियौं हामी । खयर, पेट भरेपछि फेवाताल पुग्यौं । एक घण्टाकालागि दुइटा डुङ्गा लियौं । फेवा तालमा भने मैले पहिले नै डुङ्गा चढिसकेको थिएँ । डुङ्गा चढ्नुको पनि बेग्लै मजा छ । पानीमाथि तैरीरहेको छु भन्ने सोच्दा त झनै मजा आउने । तालको चिसो पानीमा हात डुबाउँदै ताल वरीपरी हेरियो । तालको बीचतिरै रहेको ताल बाराहि मन्दिर पनि गयौं । तर धेरै समय बसेनौं । फेवा तालबाट माछापुच्छ्रे साह्रै राम्रो देखिन्थ्यो । तर त्यस दिन भने कुहिरोले छेकिदिएको थियो । ताल निकै ठूलो थियो, मैले कल्पना गरेको भन्दा पनि । हामी हामीले पनि पाले पालो डुङ्गा चलायौं । चालिसेलाई भने पेडल पकड्नै आएन । धेरै पछि मात्र जान्यो । मैले भने सरासर चलाएँ, मानौं पहिलेदेखि नै आउँथ्यो । एक छिन चलाएपछि अरुलाई पालो दिएँ । साँझ पर्न लागेको थियो । तालमा सूर्यको मधुरो प्रतिबिम्ब देखिन्थ्यो । हाम्रो समय पनि सकिएछ, किनार तिर चालक दाईले ल्याउनुभयो ।
ताल हेर्नलाई बनाइएको एउटा ठाउँ रहेछ अलि पर । केहिबेर त्यहिँ बसेर खाना खान निस्कियौं । एउटा रेस्टुरेन्ट राम्रै जस्तो लागेर पस्यौं । सोचेकोभन्दा राम्रो रहेछ । बस्नलाई अत्यन्तै सुन्दर व्यबस्था मिलाइएको थियो । भित्तातिर सुन्दर तस्बीरहरु थिए । खाना पनि स्वादिस्ट र गुणस्तरीय थियो । साह्रै चित्त बुझ्यो । पेट भरेपछि एकचोटि आफ्नो होटल गयौं । केहिबेर आराम गरेर लेकसाइड घुम्न निस्कियौं । लेकसाइड राती बिउँझिन्छ रे! त्यस्तै लाग्यो । सबैतिर झिलिमिली थियो । हामीजस्तै घुम्ने पर्यटक धेरै थिए – स्वदेशी तथा विदेशी । रेस्टुरेन्टतिर बजाइएको सङ्गीतले लेकसाइड गुञ्जयमान भएको थियो । पाइलै पिच्छे रेस्टुरेन्ट र रेस्टुरेन्ट पिच्छे बेग्लाबेग्लै सङ्गीत । एउटा रेस्टुरेन्टमा बजाइएको सङ्गीतलाई अर्कोमा बजाइएको सङ्गीतले थिचिदिन्थ्यो । तै पनि यसो हेर्दा कुनै पनि रेस्टुरेन्ट खाली थिएनन् । हवाइजहाजमा खोलिएको रेस्टुरेन्ट पनि हेरियो । यसरी नै अल्मलिंदा अल्मलिंदै रात निकै छिप्पीसकेछ । त्यसैले आफ्नै होटलमा फर्कियौं ।
बिहान उठ्दा उठ्दै ढिला भयो । बस छुट्न केबल १० मिनेट बाँकि थियो र हामीलाई बस छुट्ने ठाउँ पनि थाहा थिएन । त्यहाँको लोकल बस ७ मिनेट पछि टुरिष्ट बसपार्क भएर जाने रहेछ । हामीले ढिला हुने भनेर हाम्रो समस्या सुनाएपछि उनीहरुले हाम्रै निमित्त बस छिटो चलाइदिए । निकै दयालु रहेछन् पोखराका मान्छे । काठमाडौंमा भाकोभा हाम्रो बिन्ती कसैले सुनिदिने थिएन । तर पनि ढिला हुने हो कि जस्तो लागिरहेको थियो तर धन्न पोखरा निकै सानो थियो । चढेको एकै छिनमा हाम्रो गन्तव्य पनि आइपुगिहाल्यो । हाम्रो बस पनि एकैछिनमा कुदिहाल्यो काठमाडौंतिर । राती निद्रा पुगेकै थिएन, त्यसैले बाटोको धेरै जसो बेला म अर्ध निन्द्राको अबस्थामा थिएँ । मलेखुमा गाडि रोकेपछि मात्रै पुरै निन्द्रा खुल्यो । मलेखुको माछा निकै प्रख्यात, हामीले पनि खायौं । अनि केहि घण्टामै नौबिसेको उकालो चढेपछि काठमाडौं छिरियो । आचार्य, निरौला र थापा कलंकीमै झरे । पाण्डे, म र चालिसे माछापोखरीमा । डङ्गोल भने उहि बसमा गयो । पाण्डेको घर तेतै तिर भएकाले ऊ पनि छुट्टियो । चालिसे र मेरो घर नजिक नजिकै रहेकाले हामी भने घर जाने गाडि चढ्यौं ।
यसरी सकियो पुनहिलको यात्रा । नयाँ अनुभव बटुलें मैले । नयाँ सम्झनाहरु । मोबाइल बिग्रे पनि, जिउ दुखे पनि हाम्रो यात्रा पुर्णरुपले सफल भयो । हामीलाई स्वच्छ र स्फूर्थ बनाइदियो यो यात्राले । आउने दिनमा पनि यसरी नै यात्रा गरिरहने सङ्कल्प पनि गरेको छु मैले ।