मोबाइलमा दुई-तीन जानाको आलार्म बज्न थालेपछि मन नलागि नलागि उठ्नु पर्यो । नित्य कर्म सकाएपछि चार पाँच पत्र लुगा खापेर पुनहिल डाँडो जान लजबाट निस्कियौं । साह्रै चिसो थियो बाहिर । हिँड्दै जाँदा ओरालो सुरु भयो । पुनहिन डाँडोलाई एक घण्टा जति उकालो चढ्नु पर्थ्यो रे! पाण्डेले फेरी जिपिएसको प्रयोग गर्यो । हामी गलत बाटो आइसकेछौं । फेरी पछि फर्किएर टर्चकै उजेलीमा उकालो चढ्न सुरु गर्यौं । पहिले त चिसो चिसो नै भइराखेको थियो तर उकालोमा गर्मी हुन थाल्यो । २-३ पत्र लुगा खोल्नुपर्यो । वरीपरी केहि देखिएको थिएन । जुनको प्रकाश मधुरो थियो । आकाशमा तारा चम्किरहेका थिए । कताकता नेपथ्यमा भयङ्कर ठूला पहाडका आकृति देखिए जस्तो लाग्थ्यो तर यकिनका साथ भन्न सक्ने अबस्था थिएन ।
आचार्यसँग क्यामरा थियो । उसलाई फोटो खिच्न रहर लाग्ने, हामीलाई खिचाउन । फोटो खिच्दै खिचाउँदै उकालो काटियो । टर्चको प्रकाशमै भएपनि बाटोमा परेको हिउँ प्रस्टै देखिन्थ्यो । चिप्लिने डरले सुस्त सुस्त चढियो उकालो । माथि डाँडोमा साढें पाँचतिर पुगियो । अन्धकार उस्तै थियो । बाटोमा कसैलाई भेटेका थिएनौं । माथि पुग्ने हामी नै पहिलो टोली होलाम् भन्ने लागेको थियो मलाई । तर त्यहाँ एक पर्यटक पहिलेदेखि नै रहेछन् । हिँड्न छाडेकाले फेरी जाडो हुन थाल्यो र खोलेका लुगा एक पछि अर्को गर्दै शरिरमै पुगे । हिमालका आकृति अघिका भन्दा प्रस्ट देखिन्थे । एउटा ‘भ्यू टावर’ पनि ठड्याइएको रहेछ । हामी चैं त्यहिँ बेन्चमा बसेर आछुछु गर्दै सूर्योदयको प्रतिक्षामा बस्यौं ।
उसै त जाडो थियो, चिसो हावा चल्न थाले पछि त झन् आँत नै काप्यो । अझै लुगा भिरेर आउनु पर्ने रहेछ जस्तो लाग्यो । छेउमा चिया पसल पनि रहेछ, तर खुलेकै थिएन । एकै छिनमा कुहिरोले छोप्थ्यो र त्यसको क्षणभरमै पर्दा खोलिन्थ्यो । त्यो प्रक्रिया अनौठो लाग्यो । मैले त कुहिरो धेरै बेर लागेर बिस्तारै हटेको मात्र देखेको थिएँ । त्यहाँ त लाग्थ्यो घडिको सुइहरुलाई कसैले छिटो छिटो कुदाइरहेको छ । पुनहिल डाँडोमा आउने मान्छेको सङ्ख्या पनि बिस्तारै बढ्न थाल्यो । चिया पसले पनि आए र व्यापार सुरु गरे । साथीहरु कतिले चिया कफि खाए, मैले खाइनँ । मलाई चिसो अनुभव गर्नु थियो, हिउँ र हावाको चिसो । यसैका लागि त म यो यात्रामा आएको थिएँ । फर्किए पछि फेरी यस्तो तापक्रम पाउने थिइनँ मैले, चिया कफि खाएर त्यो अनुभव बिगार्न मन लागेन मलाई ।
सोहि चिया पसलमा पारो पनि राखिएको रहेछ । शुन्यभन्दा सात डिग्री तल थियो पारो । बिस्तारै उज्यालो हुन थाल्यो । अघिल्लो दिन भेटेको चिनिंया पर्यटकहरु पनि हुलै आएका थिए । अघि देखिएका आकृतिहरु सुन्दर, सेता र विशाल हिमालहरुमा परिणत हुँदै थिए । कुहिरो भनी सोचेको बस्तु बादलहरुमा परिणत भए । हामी त बादलको विशाल सागरभन्दा पनि माथि रहेछौं । तलका बाटो र बस्ति केहि देखिएका थिएनन् । हिमाल र त्यो मुनि बादलको महासागर । फुत्त हाम फालेर त्यो सागरमा पौडि खेल्न कसलाई मन लागेन होला र! त्यो सागर थियो नै त्यस्तै लोभ्याउने । फिँजिएको थियो कपास जसरी क्षितिजसम्मै । लाग्थ्यो ती हिमालहरुले चिसो भएर फरिया बेरेका थिए ।
हिमाल पनि बडो लोभ लाग्दा थिए । अन्नपूर्णका दुइटा चुचुरा, छेवैमा निलगिरी र माछापुच्छ्रे । यिमध्ये धेरै जसो त विश्वकै उच्च शिखरहरुमा पर्ने । हात लम्काउदैमा छुन सकिने जस्ता देखिन्थे । हिउँका सेता टोपी लगाएका र बादलका सेतै फरिया ओढेका ति हिमाललाई जति हेरे पनि चित्त बुझेन । विशाल हुनुका साथसाथै अटल थिए तिनीहरु । तिनीहरुलाई न त भू-कम्पले झुकाउन सक्यो न त हामीलाई झुकाएको त्यो चिसो बतासले । तिनलाई आरोहण गर्न खोज्ने कतिले त ज्यान पनि गुमाउँदा हुन् । बिस्तारै सूर्यको किरण आउन थाले । ति हिमालका सेता टोपी बिस्तारै सुन झैं पहेंला हुन थाले । अनि हामी पनि चढ्यौं भ्यू टावरमा सूर्योदय हेर्न ।
पूर्वमा क्षितिको रङ्ग परिवर्तन हुँदै थियो । पहिलेका चम्किला तारा सबै हराएर गइसकेका थिए । कालो अन्धकारबाट सुन्तला र सुन्तला बाट पहेंलो रङ्गको हुँदै थियो क्षितिज । भ्यू टावरको पूर्वै तिर अर्को डाँडोमा हरियो वन रहेछ । सो वनको वरीपरी सेतो बादल र क्षितिजमा बदलिंदो रङ्गहरु । बिस्तारै सूर्यले आफ्नो टाउको निकाले पहाडमुनिबाट । उनलाई पनि निन्द्राले छाडेको थिएन होला, बिस्तारै उठ्दै थिए । अत्यन्तै रमाइलो क्षण थियो त्यो । मैले दिन दिनै चन्द्रमाको आकार परिवर्तन भएको कुनै बेला एक महिना लगाएर हेरेको थिएँ । त्यहाँ त लगभग ८-९ मिनेट मै हेर्न पाएँ । हेर्दाहेर्दै सुन्तला रङ्गको सानो टुक्रो सूर्य पहेंलो र चम्किलो गोलाकार रुप लिंदै आफ्नै यात्रामा लागे, पश्चिमतिरको पहाडतिर ।
सूर्योदय हेरेपछि भ्यू टावरबाट तल झर्यौं । पुर्णरुपले उज्यालो भइसकेको थियो । चिसो पनि केहि मात्रामा घटेको थियो । तल झरेर हिउँको डल्ला बनाउँदै रमाइको गर्न थाल्यौं । आचार्य फोटो खिच्दै थियो । पाण्डे, निरौला, चालिसे, थापा, डङगोल र म बेग्लै तालमा थियौं । हामीले हिममानव पनि बनायौं । निकै आकर्षक बने जस्तो लाग्यो । लठ्ठीका टोड्का टोड्की खोजेर हात, नाक, मुख र आँखा पनि बनाइदिएका थियौं । थाहै नपाई सो डाँडोबाट मान्छेको चाप घटिसकेछ । चिनिँया पर्यटकहरु गइसकेका थिए । हामीबाहेक ४-५ जाना मात्र बाँकि थिए त्याँ । करिब ८:३० तिर हामी पनि लजतिर फर्कियौं । अघि अन्धकारमा चढेको बाटो निकै रमाइलो रहेछ । रुखहरु हिउँले सेतै भएका थिए । यसो हल्लाइदिँदा हिँउ फरर झर्थ्यो । बाटो भरि हिउँ भएकाले ‘स्केटिङ’ गरे जस्तो पनि गरें मैले । ओरालोमा चिप्लेर आचार्य, डङ्गोल र मैले एक-एक बल्ड्याङ् पनि खायौं । तिहारमा देउसीमा गाएजस्तै ‘हिउँको माटो, चिप्लो बाटो, लड्दै पड्दै आएका हामी’ भन्दै कसो लज चैं पुगिएनछ ।
क्रमश