चालकदलले हामीलाई बीच बाटोमा झारीदियो । एकछिन त अलमल्ल पर्यौं, बाटो नदेखेर । धन्न हामी २१औं शताब्दिमा छौं । पाण्डेले जिपिएस बाट बाटो पत्ता लगायो । अँध्यारोमा टर्च बाल्दै बढ्यो अघि हाम्रो टोलि । घरहरु बाक्लै थिए तर पनि मान्छेको कुनै अबसेस थिएन । मात्र कुकुरहरुले भुकेर त्यो सन्नाटा भङ्ग गर्दै थिए । यसरीनै १५-२० मिनेट हिँडे पछि दुई जाना मान्छे देखापरे । बिहानै उठेर आफ्नो पसल खोल्ने तरखरमा रहेछन् । हामीलाई देखेर उनीहरु पनि छक्क परे । हामी अत्यन्तै छिटो हिँडेका थियौं रे! हामीले चिया-नास्ताको व्यबस्था सोध्यौं । ति पसलेले पनि त्यस दिनको पहिलो ग्राहक पाए । चाउचाउको तातो तातो सुप र चिया पिउँदै एक-डेढ घण्टा त्यहिँ बितायौं । हिँड्दा लाउने सुरुवाल फेरेर करिब साढें पाँच तिर त्यहाँबाट हिँड्यौं । त्यँहिबाट घान्द्रुक र उल्लेरी जाने बाटो छुट्टिने रहेछ एउटा पुल तरेपछि । हामी भने उल्लेरी तिर लाग्यौं ।
मानिसको सबैभन्दा मिल्ने साथी कुकुर रे! खोइ किन हो, त्यहिँबाट दुई कुकुर हाम्रो पछि पछि लाग्न थाले । टर्चको उजेलीमा उनीहरु पनि हामीसँगै यात्रा गर्न थाले । पैदल यात्रा गर्दा छेवैमा खोलाको आवाज प्रस्टै सुनिन्थ्यो । तर देखिन भने चन्द्रमाको प्रकाशले कहिलेकाहिँ मात्र सम्भव थियो । ति दुई साथीहरुसँग उकाली ओराली गर्दै निकै दुरी पार गर्यौं । खै कुन बेला हो, दुई मध्य एकले हाम्रो साथ छोडिसकेछ । अँध्यारोमा हामीले पत्तै पाएनौं । तर अर्कोले भने निकैबेरसम्म हामीलाई साथ दिइरह्यो । दोबाटोमा पनि हामीलाई कुरेर बस्थ्यो । हामीसँगै हिँड्थ्यो पुच्छर हल्लाउँदै । बिहान घाम उदाएपछि भने हाम्रो वरिपरीका दृश्य देखन थाल्यो । आवाज मात्रै सुनेको खोलाको पनि दर्शन भयो । हामीलाई देखेर अरु कुकुरहरु पनि भुक्न थाले । आफ्नै जातिको आवाजले होला, हाम्रो चौपाया साथीले पनि हाम्रो साथ छाडिदियो ।
अब खुड्किलाको उकालो सुरु भयो । हामीले त्यहाँका बासिन्दालाई घोरेपानी पुग्न लाग्ने समय सोध्यौं । सबैले आ-आफ्नै उत्तर दिए ।
‘बिस्तारै हिँड्नु भो भने बेलुका पुग्नु हुन्छ ।’
‘८-९ घण्टा लाग्छ याँहाबाट त ।’
‘अब उकालो सकिएपछि आइहाल्यो नि ।’
उकालो चढ्न थालेको १५ मिनेट पनि भएको थिएन होला, हाम्रो मन प्रसन्न भएर आयो । हामी अगाडि एउटा झोलुङ्गे पुल थियो र पुल मुनि झरना । सानो छँदा आमाले हामीलाई (म र मेरो दाजु) यस्तै पुलहरुबाट तल पानीमा मोहोर-रुपियाँका सिक्का खसाल्न सिकाउनु भएको थियो । साइत लाग्छ रे! चन्द्रमा दाहिना हुन्छन् रे ! गोजीमा खोजें, झोलामा खोजें, साथीहरुसँग सोधें तर सिक्का कोहिसँग थिएन । कताकता दुर्भाग्य लागेर काम बिग्रिने भो जस्तै लाग्यो । पुल पारीबाट झरनाको फेदमा झर्ने बाटो रहेछ । त्यहिँ गएर निकै बेर बस्यौं । झरनाको त्यो चिसो पानी छङछङ गर्दै झरेको थियो, मनै लोभ्याउने गरी । मनको प्यास नमरुन्जेल हेरें मैले । त्यो झरनाको पानी माथीबाट एक्कासी तल झरेको थियो । हाम्रो यो यात्रा पनि त यस्तै थियो । एकाएक घुम्न जाने भनेर कुनै प्लान बिना यहाँसम्म आइपुगेका थियौं । जसरी झरनाले मुग्ध गराउने ध्वनी र दृश्य प्रदान गरीरहेको थियो, ठिक त्यसरी नै यो यात्राले पनि हामीलाई यस्तै आनन्द प्रदान गरीरहेको थियो । त्यो झरनाको पानी बहाबसँगै, मोडसँगै, छाँगोसँगै बग्दै थियो । हामी पनि त त्यहि पानी जस्तै त थियौं नि, बाटोले जता जता लान्छ निष्फिक्री हिँडेका थियौं, गन्तव्य पुग्ने टुङ्गो थिएन । अन्तत: हामीलाई अघि बढ्नु थियो । उकालो चढ्न थाल्यौं ।
उकालो ठाडो थियो । पहिलेको जस्तो समथर उकालो थिएन, खुड्किले उकालो । सासै रोकिने । जति माथि चढे पनि, उकालो सकिन्न थियो । अघि तरेको झरनाको पुल त कति तल देखिन्थ्यो । छेउछाउमा बस्तीहरु पनि थिए । हामीले घोरेपानी पुन्न लाग्ने समय सोध्न भने छाडेनौं । तर जति माथि पुगेर सोध्दा पनि ‘अब ७-८ घण्टा लाग्छ’ भन्ने उत्तर मात्र पायौं । यहाँदेखि हामीलाई अर्को कुकुरले साथ दियो, उकालो नकटुन्जेल । उकालो चढ्दा सबै उर्जा सकियो । अनि उर्जा भर्न ‘स्निकर्स्’ खायौं । खाएको एकछिनसम्म भटाभट हिँड्यौं तर फेरी लखतरान भइ हाल्यौं । यस्तो उकालोमा सामान ओसार पसार कसरी गर्दा हुन् ? यो प्रश्न मेरो मनमा के उब्जेको थियो, उत्तर पनि पाइहालें । बाटो भरी खच्चड र घोडाको मल थियो । खाली ठाउँ कतै थिएन । नभन्दै खच्चडलाई सिमेन्टका बोरा भारी बोकाउँदै गरेको पनि देखियो । बिहानको चाउचाउले साथ छोडेको अनुभब गरेर काठमाडौंबाट ल्याएको केक खाइदियौं । अलिकति ताकत आयो । उकालो भने चढि रह्यौं । उकालोले पनि हार मानेन । हामी जति जति चढ्थ्यौं, उकालो त्यति त्यति नै तन्किदिन्थ्यो । हामीलाई चुनौति ।
उकालो चढ्दै जाँदा केकले पनि साथ छोडे जस्तो भयो । घोरेपानी पुग्न अझै आठ घण्टा लाग्थ्यो रे! केहि नलागेर उर्जा दिने एनर्जी ड्रिन्क्स् – रेड बुल किन्यौं । त्यो पनि दोब्बर पैसा हाल्नु पर्यो । खयर, उकालो चढाइदिए त भैहाल्थ्यो । एक पटक सुरुप्प पार्यो अनि उक्ल्यो ३०-४० खुड्किला । सुरुप्प पार्दा झनक्क तागत आउने, अनि केहि खुड्किला कट्ने । अहिले अचम्म लाग्छ, त्यो सानो बट्टको झोल मैले कसरी डेढ घण्टा जति टिकाएँ । तर माथि पुगेर सोध्दा चैं अब खुड्किले उकालो सकिएको खबर प्राप्त गर्यौं । मन प्रफुल्ल भयो । मानौं रेडबुलले मलाई निकै ठुलो गुण लगाइदियो । उकालोको दु:ख भुलाउने क्रममा हामीले गाइ रहेका गितहरु पनि बन्द भए । ख्याल ठट्टाका गफ पनि । उकालो त सकिएको थिएन तर ठाडो खुड्किले उकालो भने सकिएको थियो । १०-१५ मिनेटको विश्राम पछि हाम्रो यात्रा पुन: अघि बढ्यो ।
हामी पहाडको माथि थियौं । कुहिरोले तल केहि नदेखिने भएको थियो । लठ्ठि टेक्दै हामी अझै उकालो चढ्दै गयौं । अब भने हाम्रो भेट पर्यटकहरुसँग पनि हुन थाल्यो । धेरै जसो त चाइनाबाट आएका रहेछन् । केहिसँग सानातिना गफगाफ पनि गरीयो । तर उनीहरु कछुवाको तालमा हिँड्ने । हामी अघि बढि हाल्थ्यौं । जङ्गलको बाटो, शान्त वातावरण र ठन्डि । पैदल यात्रालाई निकै सुहाएको ठाउँ र मौसम थियो । अब त घोरेपानी छिट्टै आइपुगिन्छ जस्तो लागेको थियो तर अँह उकालो नै सकिएको थिएन । बेलाबेलामा देखा पर्ने घाम हाम्रो टाउका माथि पुगेपछि भने हामीले हिउँको साक्षात दर्शन पायौं । हामीमध्ये कसैले पनि पहिले हिँउ देखेका थिएनौं । पहिको चोटि देख्दा हर्ष, उल्लास र उत्साह सबै भरिएर आयो । उकालो चढ्दाको थकान पनि चटक्कै बिर्सियौं । र त्यहिँ हिँउ खेल्दै अल्झियौं । ती पर्यटकका भारी बोकेका भरियाहरु पनि त्यहिँ आराम गर्दै रहेछन् । आधा घण्टामा घोरेपानी पुग्ने समाचार दिए । हामी भने चारै तिर हेर्दै, खेल्दै, फोटो खिच्दै आधा घण्टाको बाटोलाई डेढ घण्टामा सकायौं । तर हामीले त हिउँको सानो खोलो मात्र देखेका रहेछौं , समुद्र त आउनै थियो ।
खानबस्नको व्यबस्था मिलाएर हात मुख धोयौं । लजको दिदिले दाउरा बाली दिनु भयो । अनि भुङ्ग्रोमा बसेर तातो तातो चिया नास्ता गर्यौं । मैले सोचेको पनि थिइनँ सानो भुङ्ग्रो, एक कप चिया र सातुले कति आनन्द दिंदो रहेछ । अझ भुटेको मकै भटमास भइदिएको भए त ………. । थकानले हामीलाई सताउन थाल्यो । दिदिसँग पुनहिलको जानकारी मागेर रातिको अनिदो पुरा गर्न कोठातिर लाग्यौं । साँझमा खाना खाएर फेरी निन्द्रादेवीको सरणमा पुग्यौं । आखिर बिहान सबेरै उठ्नु थियो ।
॥॥॥क्रमश॥॥॥