दिउसो ३ बजेतिर घरबाट पुनहिल प्रस्थानका लागि निस्किएँ । ४:१५ तिर नयाँ बसपार्क पनि पुगियो । दुई साथीहरु पिहले नै आइसकेका रहेछन् । थप दुई आएपछि बाग्लुङ्ग जाने बसको टिकट किन्न गइयो । सोचेभन्दा सस्तोमा र राम्रो बसको टिकट पाइएकाले हामी प्रसन्न भयौं । टिकट सात जानाको काटेका थियौं । केहि समयमै अर्को साथी आइपुग्यो । सधैं ढिला आउने डङ्गोलको मात्रै चिन्ता थियो । ५ बजे छुट्टने गाडि हिँड्न लागेको थियो । तर समयमै आइपुगेर सबैलाई तीनछक्क पारिदियो उसले । केहि छणमै गाडि हुँइकियो । अगाडि टिभीमा हिन्दी चलचित्र सुरु भयो । अनि हाम्रो यात्रा पनि ।
एउटा कुराले चैं म अलि असन्तोस भएको थिएँ । थाहा थियो यसको सम्भावाना निकै न्यून थियो (शुन्य बराबार) तरपनि हामी चढेको बसमा पहिले देखि नै उ चढिरहेकी होली र हामी सँगै यात्रा गरौंला भन्ने । त्यो सम्भावना सम्भावानामा मात्रै सिमित भयो । खयर चलचित्रको कथासँगै हाम्रो यात्रा पनि अघि बढ्दै गयो । पुनहिल साह्रै चिसो हुने खबर पाएर निकै लुगा कोचेको थिएँ झोलामा । साथमा केहि औषधीहरु र केहि अत्याबश्यक कुराहरु त छँदै थिए । झोला भारी नै थियो । जाडो याम, घाम थानकोट नपुग्दै अस्ताइ हाले । बाहिर सहरको रमझम हेर्दै गरेको मलाई अब अन्धकार मात्रै देखिन थाल्यो । सडक छेउछाउमा केहि मात्र बत्ति बलेका थिए । बसपार्कबाट खालीखाली हिँडेको बस भटाभट भरिंदै थियो । मन नलागी नलागी चलचित्रमा ध्यान दिन खोजें । बसमा यसरी चलचित्र हेरेको थिइनँ । यसरी लामो रुटको गाडि नचढेको पनि धेरै भइसकेछ । मैले चढ्दा यसरी चलचित्र देखाउने, गाडिभित्रै वाइफाई सेवा दिने चलन थिएन । अनि सम्झन खोजें अघिल्लो पटक यसरी गाडि कहिले चढेको थिएँ । अँह सम्झिन सकिनँ । चढेको थिएँ थाहा छ, तर मलाई सम्झना भने छैन । सायद सानै हुँदो हुँ त्यति बेला । राती साँढे आठ तिर एउटा होटेलमा खाना-नास्तालाई बस रोकियो । हामीले तातो तातो चिया र चना खायौं । खासै मीठो थिएन । आधा घण्टा जति त्यहिँ बसेपछि फेरी बस कुद्न थाल्यो । अघि सम्म सुस्त सुस्त गुडिरहेको गाडिले अहिले गति पकडेको मलाई आभाष भयो । सायद यात्रुले खाएको खाना-नास्ताले गाडिलाई स्फूर्ति दिएछ । बसमा पहिलेकै चलचित्र चल्दै थियो ।
म निदाउने प्रयासमा लागें । आँखा बन्द गरेर सिटमा ढल्किएँ । निन्द्रा आएन । तै निदाइहाल्छु कि! भनेर आँखा भने खोलिनँ । आफू अघिको यात्राको उत्सुकताले पनि होला निन्द्रा नलागेको । कति समय कट्यो थाहा थिएन । तर पुरै चेतनाको अवस्थाबाट निन्द्राको सीमाना तिर पुगेको रहेछु, गाडि खाल्डोबाट कुदेछ । गडडडडडडड । मलाई झस्काएर फेरी पूर्ण चेतनशील अवस्थामा तानिदियो गाडिले । अनि नेपालको सडकलाई पनि सरापें एकछिन । चक्का माथि सिट पर्ने व्यक्ति पनि महाअभागी हुन्, विशेष गरी यस्ता रात्री बसहरुमा । म पनि अभागी नै रहेछु, नत्र त्यसबेला म पनि निन्द्रामा मस्त हुन्थें होला । फेरी निदाउने प्रयास गरें, असफल भएँ । अनि निदाउने प्रयास पनि गर्न छाडिदिएँ । टिभीमा नयाँ चलचित्र सुरु भइसकेछ । रमाइलो नै रहेछ । केहिबेर हेरिरहें । मेरा साथीहरु पनि कोहि चलचित्र हेरिरहेका थिए त कोहि निदाउन खोजिरहेका थिए । सफल भए कि भएनन्, उनीहरु नै जानुन् । चलचित्रमा ध्यान दिँदा दिँदै मनमा विभिन्न तरङ्ग आइरहे । त्यसैले चलचित्रको कथा मलाई त्यति याद छैन ।
चलिरहेको चलचित्र सकिएकै थिएन, गाडिले पुन: केहिबेर बिश्राम लियो । यसबेला पनि बस बाहिर बसियो । गाडि फेरी चल्न सुरु गर्दा नयाँ चलचित्र लगाइयो । पहिलेकोलाई निरन्तरता दिइएन । नयाँ चलचित्र साह्रै छोटो रहेछ । केहि कक्षमै सकियो । त्यसपछि भने कुनै चलचित्र देखाइएन । सबैले आँखा बन्द गरेर सुते पनि निदाएका थोरै मात्र थिए । म भनें झ्यालबाट अँध्यारोमै भएपनि बाहिर टोलाएर बसें । रातको १ बजे तिर पोखरा बजार पुगियो, केहि यात्रुहरु झरे पनि । हामीलाई नयाँपुल पुग्नु थियो । तर त्यो ठाउँ काहाँ-कता हो हामी कसैलाई थाहा थिएन । चालकदललाई नयाँपुल आएपछि खबर गर्न अनुरोध गर्यौं । पोखराको बाग्लुङ्ग बसपार्क पनि काटियो । पोखरामा भएको बसपार्कको नाम बाग्लुङ्ग बसपार्क रे! हाँसो आयो । कुन मुर्खले यस्तो नाम राखेछ कुन्नि ! सो बसपार्कबाट केहि किलोमिटर पर बस रोकियो । गाडिको तेल सकिन लागेकाले अर्को गाडि बोलाएका रहेछन् । एक घण्टा जति त्यहिँ कुर्नु पर्यो । त्यसबेला कुर्न झन्जट लागे पनि अहिले फर्केर हेर्दा निकै राम्रो काम भएछ जस्तो लाग्छ । किनकी त्यो समय गाडि नरोकिएको भए हाम्रो यात्रा निकै अन्धकारमा हुने थियो । नयाँ गाडि आयो । सामान सहित हामी पनि सर्यौं । त्यस गाडिको चालकदललाई पनि नयाँपुल आएपछि खबर गर्न अनुरोध गर्यौं । त्यस गाडिमा भने टिभीमा गितहरु बजाइदै थियो । आफ्नो गन्तव्य आउन लागेकाले मन बेचैन हुन थाल्यो । अँध्यारो छ, कतै अन्त्यै गाडि रोकिदिने हो कि! ठिक ठाउँमा रोकिदिए पनि बाटो हामी कसैलाई थाहा छैन । बाटोमा सोध्दै जान पनि मान्छे कोहि उठेका छैनन् । डर डर लाग्न थाल्यो ।
॥॥॥क्रमश॥॥॥