समय कति छिटो बित्दो रहेछ, आज महसुस गरें। लास्ट बेन्चसगँ मित्रता गरेको पनि आज साँढे सात वर्ष भइसकेछ । लाग्छ हिजो मात्र लास्ट बेन्चसँग परिचय गरेको हुँ । तर समयसँगै हाम्रो औपचारिक साथ गाढा मित्रतामा परिणत भइसकेछ । अब त लाग्छ लास्ट बेन्च साथमा नभए आफैँ अपुरो छु । सायद लास्ट बेन्चलाई पनि म प्रति यस्तै भावना होला । कारणवस म लास्ट बेन्चमा बस्न पाइन भने, ऊ निराश भएझैं लाग्छ ।
मेरो लास्ट बेन्चसँगको चिना परिचिना पनि स्मरणिय थियो । पहिले त म लास्ट बेन्चलाई शत्रुको रुपमा लिने फस्ट बेन्चसँग धेरै घुलमेल गर्थें । साँच्चै भन्दा त म लास्ट बेन्चलाई बेकम्मा, फटाहा ठान्थें, पछाडी फर्केर पनि हेर्दिनथें । तर कति गलत थिएँ म । माफ गर मित्र, तिमी प्रति ममा यस्तो धारणा पनि थियो । तर जब मैले कक्षा ६ पछि विद्दालय परिवर्तन गर्नु पर्यो, लास्ट बेन्चसँग बिना ईच्छा परिचत गर्नु परेको थियो । तर आउने दिनमा फस्ट बेन्च र मेरो पुन:मिलन जति प्रयास गरे पनि हुन सकेन । उना लास्ट बेन्चको साथ मलाई प्यरो लाग्न थालेको थियो । यसरी नै लास्ट बेन्च र मेरो मित्रता सुरु भा हो । लास्ट बेन्चसँग मेरो जति जति मित्रता गाढियो, फस्ट बेन्च भने मसँग झन् झन् रिसाउदै गयो । अब त ऊ मलाई हेर्न समेत चाहाँदैन । कारणबस फस्ट बेन्चमा बस्नु परे पनि अपरिचित जस्तो व्यबहार गर्छ । लाग्छ भनिरहेछ -”गइ हाल याँहाबाट”। हुन त म उसलाई दोष पनि दिन्न । उसले पहिलेदेखि मान्दै आएको शत्रु जो मेरो गाढा मित्र छ अहिले । म त चाहान्छु हाम्रो मित्रता पूर्ण रुपमा नसोझिए पनि हामीबीच कुनै कुभाव नहोस् । भन्न चहान्छु कि लास्ट बेन्च उसलाई शत्रुको रुपमा लिंदैन, कुनै कुभाव राख्दैन । तर ऊ मेरो कुरा सुन्न तयार पनि छैन ।
लास्ट बेन्च र मेरो मित्रता गाढा हुनुमा थुप्रै कारणहरु छन् । धेरै सुख:दुखका घटना हामीले सँगै भोगेका छाैं । म सानो बालकबाट बयस्कमा परिणत हुँदा लास्ट बेन्च सदा मेरो साथमा थियो । मेरो पहिलो ‘क्रस’देखि पहिलो ‘लभ’, मलाई हरदम हौसमा र साथ दिने लास्ट बेन्च नै हो । ममा समय अनुसार आएको परिवर्तन लास्ट बेन्चले सँधै बुझेको छ । मेरा ईच्छा, चाहाना उसलाई सब थाहा छ । मैले पनि उसका दुखपीडा राम्ररी बुझेको छु । फस्ट बेन्च र उसका साथीले लास्ट बेन्चप्रति गर्ने हेला पनि मैले राम्ररी बुझेको छु । सारांसमा भन्दा हामीले एकअर्कालाई बुझेका छौं । हामीबीच कुनै गोपनियता छैन । यसै कारणले हाम्रो मित्रता चट्टानभन्दा पनि अटुट भएको छ, पहाडभन्दा पनि अटल भएको छ, गंगाभन्दा पनि चोखो भएको छ ।
लास्ट बेन्च र म । हामी साथसाथै थुप्रै adventuresमा सहभागी भएका छौं हाम्रो मित्रताको छोटो अवधीमा । यी मध्य कुनै उल्लेखनीय र सुनौला छन् भने कुनै गोप्य राख्नु पर्ने खालका छन् । यी adventures मा हामी दुईमात्र होइन अरु साथीहरु पनि सहभागी थिए तर हाम्रो संलग्नता सधैं थियो तर साथीहरु भने कहिले को त कहिले को हुन्थे। लास्ट बेन्चबाट कोठैभरि देखिन्छ । कसले कुन समयमा के गरि रहेको छ सब थाहा हुन्छ । यै कुराको फाइदा उठाउँदै हामी कहिले बेअर्थको गफगाफ गर्थ्यौं त कहिले यत्तिकै कागजमा कोरेर बस्थ्यौं । गफ पनि समाज, राजनिति जस्ता उच्च स्तरका विषयदेखि चलचित्र, खेलकुद, जस्ता थुप्रै विषय अोगटेर गर्थ्यौं । कहिले खाजा बाजी राखेर ‘राजा-रानी-चोर-पुलिस’खेल्थ्यौं त कहिले पढाइमा ध्यान दिन्थ्यौं । कहिलेकाहिँ भने कसले पढिराछ, कसले छैन, को के सुरमा छ, त्यहि हेरेर बस्थ्यौं । कहिले कागजका डल्ला बनाएर अगाडीका साथीहरुलाई हान्थ्यौं, केटा होस् वा केटी। हामी लैङ्गिक विभेद गर्दैनथ्यौं । कहिले मोबाइल फोनमा high score कटाउने प्रतियोगिता चल्थ्यो। Homework, lab report, assignments अादि इत्यादि सबै सधैं लास्ट बेन्चको साथमा गर्थ्यौं, यो बानी त मेरो अझै छुटेको छैन । यस्तै यस्तै स-साना कुराहरुले कति असर पार्दो रहेछ । पहिलेका ती पल सम्झदा पनि अोठमा मधुर मुस्कान आउँदो रहेछ । बुढेसकालका लागि सम्झना बन्दो रहेछ ।
हामी बीच मनमुटाब नहुने भन्ने चैं होइन । हामीबीच पनि झगडा हुन्छ । लास्ट बेन्चले मलाई साथ र सहयोग दिँदादिँदै पनि दुर्भाग्य र अबजस निम्त्याएको छ । यस्तै विषयमा हामीबीच दुईमत हुने गर्छ । तर यस्ता विवाद र झगडाबाट माथि उठ्न सकेकै कारणले हाम्रो मित्रता साँचो र अटुट बनेको छ । हो, जति जति कक्षा चढ्दै गएँ, मलाई साथ दिने लास्ट बेन्च फरक फरक भएपनि सबै लास्ट बेन्चको आत्मा त एउटै हो । जुन लास्ट बेन्चमा बसे पनि उहि हो ।
पहिले त लाग्थ्यो लास्ट बेन्चको कोहि साथी छैन । म भइन भने उ एक्लो हुन्छ जस्तो लाग्थ्यो । तर आज समय परिवर्तन भइसकेको छ । अहिले त म र मेरा साथीहरु हुँदाहुँदै पनि लास्ट बेन्चको लागि झगडा गर्नुपर्ने अवस्था आएको छ । अलि ढिलो पुगियो भने त लास्ट बेन्च अरु कसैले अोगटिसकेको हुन्छ । लास्ट बेन्चले म बाहेक पनि अरु साथी बनाउन सफल भएछ । खुशी लागेको छ मलाई । यो साढेँ सात वर्षको सुनौलो यात्रा मेरो लागी साँच्चै अविस्मरणीय छ । हाम्रो अबको यात्रा पनि यस्तै रमाइलो होअोस्, हाम्रो मित्रता अझै गाढियोस् ।
-अनुपम दहाल
२२।०३।२०१५
०८।१२।२०७१
कपन, काठमाडौं