काठमाडौं उपत्यका, मन्दिरको सहर । नेपालको राजधानी । रात्री आकाशबाट नजर लगाउँदा पाटो पाटो मात्र झिलिमिलि देखिन्छ । कारण? सारा उपत्यकाबासीले पाएको लोडसेडिङ्को वरदान । उपत्यकाबासीले मात्रै होइन, सारा नेपालीले भन्दा गलत नहोला । यसै कारणले पनि यो उपत्यका भिन्न छ । जीवन्त छ यो उपत्यका । खोजे यहिँ पाइन्छन् ढुङ्गामा देवता, यहिँ पाइन्छन् देवतामा दानव । खोज्नु मात्रै पर्छ यहाँ आठौं आस्चर्य प्रसस्तै छन् । आइन्स्टाइन, देवकोटा, नाइटिङ्गेल पनि प्रसस्तै छन् । यस उपत्यकाको हरेक कुना काप्चामा ईतिहास झल्कन्छ । यस उपत्यकाको हरेक अनुहारमा छुट्टै कथा छ, कुनै समापनको क्रममा छन् त कुनैको भर्खर इति श्री हुँदै छ । छुट्टै संसार छ काठमाडौं उपत्यकाको ।
लाखौंलाई बासोस्थान प्रदान गरेको यो उपत्यका कहिले बाघ गर्जे झैं गर्जन्छ त कहिले मौन बसिदिन्छ । दिउँसो दिउँसो गाडिको टिँ टिँ र टुँट टुँटले उपत्यका भरिएको पाउँछु र राती रातीको शून्यतालाई कुकुरको भुकाइले मात्रै भङ्ग गरेको पाउँछु । यतीको भीडमा पनि, यतीको होहल्लामा पनि सबैको जीवनरथ चलिरहेको छ । सबै ब्यस्त छन् । त्यसैले होला यहाँ आफ्नो छरछिमेकीलाई पनि थोरैले चिन्छन्, चिन्ने जमर्को पनि गर्दैनन् । चिने पनि वास्ता गर्दैनन् । यसरी एक अर्कासँग नजोडिए पनि यस उपत्यकासँग भने सबै जोडिएको पाएको छु मैले । कोहि राम्रो कामको खोजीमा यस उपत्यका छिरेका छन् । कोहि गरिबीलाई पछि पार्न सुनका थैला कमाउने सपना बुन्दै यहाँ आइपुगेका छन् । कोहि ख्याती कमाउने क्रममा यहाँ आइपुगेको बताउँछन् त कोहि व्यापार व्यवसाय राम्रो भएको भन्छन् । शिक्षा, स्वास्थ्य पनि यहिँ राम्रो भएको बुझेको छु मैले । जे होस्, सबैलाई यहिँ बस्ने आधार दिएको छ यो उपत्यकाले ।
हालै गएको भूकम्पले ढाल्नु अघि धरहरा चढेर यो उपत्यकालाई राम्ररी नियालेको थिएँ । चारैतिर बादल छुने पहाडले घेरेको थियो यसलाई । एउटा खाल्डो खनेर प्रकृतीले जीवनको फूल रोपेझैं लाग्यो । सायद प्रकृतीले यस उपत्यकालाई बाहिरी तत्वबाट बचाई आफ्नो फूलबारीको रुपमा विकसित गर्ने प्रयत्न पो गरेकी थिइन् कि ! नभए, सबैतिर यस्ता सुन्दर पहाडले घेर्नुको के अर्थ? उत्तर दिशामा अवस्थित गणेश हिमालको सेतो शिखर कति रमणिय छ । यो बेला म पनि काठमाडौं भर्खर छिरेको थिएँ । मोहनी लगाएको थियो यसले मलाई । सडकमा चिल्ला चिल्ला गाडि कुदिरहन्थे, आकाशमा ठूल्ठूला जहाज । यहि बेलादेखि आफ्नो पनि एउटा ठुलो चिल्लो गाडि होस् भन्ने इच्छा जागेको हो । घरहरु पनि ठूल्ठूला, चम्किला सिसा भएका । पसलहरु पनि प्रसस्तै, जे देखे पनि किनौ किनौ लागेको थियो । काठमाडौं उपत्यकाको आकर्षण यसरी नै सबैलाई तान्ने गर्छ । आदिकवि भानुभक्तलाई पनि यसरी नै तानेको तियो तत्कालीन कान्तिपुरी नगरीले ।
केहि वर्ष बीते । काठमाडौं उपत्यकासँगको परिचय बढ्दै गयो । हाम्रो गोप्यता साटासाट हुँदै गयो । थाहा पाएँ काठमाडौं उपत्यका हुनेखानेको लागी मात्र रहेछ । सोझासाझा र मध्यम वर्गीय सधैं संघर्षमै जुधिरहँदा रहेछन् । पहिले देखेका चिल्ला गाडि धनी, मन्त्री र अफिसका हाकिमका मात्र रहेछन् । म जस्ता साधारण व्यक्तिले उहि कुच्चिएको सार्वजनिक गाडि चढ्नुपर्ने, अरुका पसिनाले गन्हाएको शरिरसँग जोतिएर, कोचिएर र थिचिएर । ती सपिङ् मल र पसलहरु पनि हुनेखानेकै निमित्त रहेछन् । अरुले त रत्नपार्क र अन्य ठाउँका फुटपाथबाट लत्ताकपडा र जुत्ता-चप्पल किन्नु पर्ने रहेछ । बिस्तारै बिस्तारै काठमाडौं उपत्यका मलाई मन पर्न छाड्यो । लाखौं मान्छे भएको यस उपत्यकामा आफूले चिनेको भनेको उहि १५०-२०० जना होलान् । बाँकीलाई आखिर केले छेकेको छ? कहिलेकाँहि त लाग्छ सडकको बीचमा जाउँ र ‘नमस्कार! म फलानो …………’ भन्दै सबैसँग परिचय गरुँ, चिनजान बढाउँ । तर मुन्टो सिधा पारेर हेर्छु अनि धुँवा र धुलोले मेरो दृश्यलाई छेकेको पाउँछु । गर्मीमा तुँवालो, जाडोमा कुहिरो र वर्षामा झरीले छेकेको हुन्छ मेरो दृश्य । लाग्छ उपत्यकाले भनिरहेछ – ‘भो! जति देख्छस्, त्यति मै चित्त बुझा । यसैमा सबैको भलो छ ।’ लाग्छ उपत्यकाले एउटा सानो क्षेत्रमा मलाई सिमित गरिरहेको छ ।
भूकम्प जानु भन्दा करिब एक महिना जति अगाडि फेरी धरहरा चढेर काठमाडौंको अवलोकन गरेको थिएँ। यसपाली भने मनमा भिन्न विचार आए । लाग्यो प्रकृतीले यसलाई बगैंचाको रुपमा हैन कारागारको रुपमा बनाएकी रहिछन् । वरिपरिका पहाड त कारागारका भित्ता रहेछन् । कारागार प्रमुखमा गणेश हिमाललाई नयुक्त गरेकी रहिछन् । त्यसैले त उत्तर दिशाबाट सेतो दाँत देखाउदै आँखै झिमिक्क नगरी पहरेदारी गरिरहेको हुन्छ । काठमाडौं उपत्यका – कारागार । छिरे पछि फुत्किन गाह्रो । धरहराबाट हेर्दा ती तितरबितर घरहरु पनि बगैंचाका फूल नभई कुनै सिकारू कलाकारले बिगारेको तस्बीर जस्तो देखें । काठमाडौं उपत्यकाको पहिले नदेखेको रुप देखें ।
केहि दिन पछि महाभकम्प गयो । धेरैले ज्यान गुमाए । धेरै घरहरु पनि ढले । सायद काठमाडौं उपत्यकाले पनि मैले देखेको पक्ष देखेर एउटा नयाँ सुरुवात गर्ने अवसरको सृजना गरेको पो हो कि! जे होस्, भूकम्प गइहाल्यो, अब बनाउनु छ नयाँ उपत्यका, सबैको उपत्यका । यो उपत्यका बने पछि हेर्नलाई कुनै धरहरा चढ्नु नपरोस् । सबैले आ-आफ्नै ठाउँबाट हेर्न पाउन्, अनुभब गर्न पाउन्।
-अनुपम दहाल
२०७२।०५।०२ कपन