मित लगाउने ठूलो धोको पुरा भएपछि आफ्नो मितपरिवारसँग भेटघाट गरेको थिएँ । मितबा, मितआमा, मितदाजु सबै उच्च बिचार भएका व्यक्ति रहेछन्। तर ममा उहाँहरुभन्दा पनि बढि प्रभाव मितहजुरबाको पर्यो । काम नपरि खासै नबोल्ने स्वबावका रहेछन् बुढा, ठ्याक्कै म जस्तै । पहिलो चोटि देख्दा हातमा चुरोट लिएर बरन्डामा धुवाँ उडाइ रहेका थिए । मान्छे उहि ७०-७२ वर्षका अनुमान गरें मैले । दौरा सुरुवाल र स्ट कोट लगाएका थिए । शिरमा ढाका टोपी त छँदै थियो । बस कम्मरमा खुकुरी भिर्न मात्र बाँकी थियो । जे होस्, पहिलोपटकमै अरुलाई आफू तिर तान्न सक्ने मिजासका मान्छे थिए मेरा मितहजुरबा ।
तीन घन्टा पनि भएको थिएन, बुढाले दुईटा चुरोट सिध्याएर तेस्रो सल्काउदै थिए । म उहाँसँगै गएर सोधें – ‘कति वटा खानु हुन्छ बा, दिनभरमा?’ उहाँको सोझो उत्तर थियो – ‘९-१० ओटा त खान्छु बाबु ।’ नौ-दस ओटा । म आस्चर्यमा भने परिन । तेस्रो घन्टामा उनको तेस्रो चुरोट थियो त्यो । आफ्नै अनुमान पक्का गर्न मात्रै सोधेको थिएँ मैले । अनि औपचारिकताको लागि मात्रै भए पनि चुरोटको हानी दर्शाउदै चुरोट खान छोडिदिनोस् भने ।
‘तिमी पनि तै डाक्टर जस्तै कुरा गर्न थाल्यौ त!’ अलि जोस्सिदै भने, ‘मैले १४ वर्षको हुँदादेखि खाको, बिँडि चुरोट, केहि हुन्न ।’
‘के भन्यो र डाक्टरले? डाक्टरको कुरो त मान्नै पर्यो नि !’
बुढा अझै आवेगमै थिए, भने – ‘सबै कुरा डाक्टरलाई काँ था हुन्छ? मैले हिजोआजदेखि खान थालेको हैन, जे हुनु थ्यो भैसक्थ्यो । यो बरन्डामा त बतास पनि आउदैन ।’ भनि छततिर लागे । बुढा छामछुम गर्दै हिँडेका थिए, आँखा राम्ररी देख्दा रहेनछन् । छत जाने भर्याङ हातले भेटेपछि बिस्तारै चढे।
अनि मितलाई सोधें हजुरबाको बारेमा । डाक्टरले फोक्सोमा कालो दाग भेटेको र चुरोट तुरुन्तै छोड्ने सल्लाह दिएका रहेछन् । बुढाले नटेर्नु आफ्नै ठाउँमा छ । बुढाको बारेमा अर्को कुरा पनि था भयो । हात हेर्न निकै माहिर रे ! ठ्याक ठ्याकि पुग्थ्यो रे उनले भनेको । पहिले केहि समयलाई हात हेरेर मात्रै पनि गुजारा चलाएका थिए रे ! मितले ‘तँ पनि हात देखा बुवालाई’ भनि कचकच गर्न थाल्यो । मैले ‘पर्दैन, विश्वास लाग्दैन यस्ता कुरामा’ भन्दा भन्दै पनि हजुरबालाई छतबाटै तानेर ल्यायो – ‘लौ, मितनातिको हात हेरिदिन पर्यो’ भन्दै । बुढालाई पनि खुब रहर लागेको रहेछ क्यार, ‘हात हेर्दिनु? हम्, ल लेउ हात’ भन्दै अघि सरे । केटाकेटिलाई हिलोमा खेल्न जा भनेर अह्राए जस्तै, देखाउन नचाहे पनि उनी निकै खुशी भएजस्तो लाग्यो मलाई ।
‘बाले हातको रेखा त देख्नुहुन्छ?’ सोधें मैले ।
‘म त रेखा पढ्दिन त बाबु । म त हस्तलिपि पढ्छु, तिमीहरुले किताबमा अक्षर पढे जस्तै हो, हात हेर्दा म पनि त्यस्तै अक्षर देख्छु हातमा ।’
बुढाको उत्तरले यसपाली भने मलाई आश्चर्यमा पार्यो । घुमाइफिराई ‘तैंले मलाई आँखा देख्दैनस् भनेको?’ भनेका थिए उनले । मैले पनि आत्मसमर्पन गर्दै भने – ‘कुन हात बा? दाहिले कि देब्रे?’
‘दुबै लेउ बाबु, एउटा हात पढ्नु भनेको आधा किताब पढ्नु हो, पुरा कथा जान्नलाई त दुबै हात पढ्नु पर्छ ।’
उनको उत्तरमा ज्ञान र विवेक थियो । दुबै हात उनका अगाडि राखिदिएँ । एक छिन नियालेर अध्ययन गरे उनले । आफ्नै सुरमा बीचबीचमा ‘हम्,……, हम्,…..,अँ,……’ गर्थे उनी । कहिले मेरा हात तानेर आँखानेर लान्थे अनि कहिले ओल्टाइ पल्टाइ हेर्थे । केहिबेर पछि भने – ‘लौ भन के जान्न चाहान्छौ?’
‘सबै कुरा भनिदिनोस् ।’
‘म त सबैकुरा देख्छु, सबै भन्न थालें भने त एक वर्ष लाग्छ ।’ अलि रुठो पारामा भने । उनको कुरामा चतुर्याँइ र विवेक झल्किएको पाएँ मैले । नसोधेसम्म भन्ने वाला थिएनन् उनी । अनि सोधें:-
‘स्वास्थ्य कस्तो रहने छ त मेरो बा?’
‘हम्, स्वास्थ्य राम्रै छ, बाँचुन्जेल सानातिना रोगहरु लागि रहनेछन् तर तिम्रो सानैदेखिको रोगले चैं छाड्दैन । खासै गाह्रो पनि पार्दैन, चिन्ता लिनु पर्ने देख्दिन म ।’
सानै छँदा न्युमोनिया बिग्रिएर शवासप्रश्वासको समस्या बसेको थियो मलाई । अझै कहिलेकाहिँ सताउने गर्छ । यो कुरा मितलाई त थाहा थिएन होला, बुढाले फ्याट्टै, कुनै सङ्कोच नमानी भनिदिए । पहिलो चोटि मै अँध्यारोमा हानेको तिर लगाए । यो कुरालाई बढि घोच्न चाहिंन र पढाइको कुरा राखें:-
‘पढाइ कस्तो रहन्छ त बा?’
‘पढ्न त पढ्छौ, धेरै माथिसम्म पढ्छौ, हम्, राम्रो छ पढाइ ।’
‘अनि बा, मलाई विदेश घुम्न सानैदेखि खुब रहर छ, कस्तो योग छ त?’
‘अम्, विदेश घुम्ने योग पनि छ । २७ वर्ष पुग्नु अगावै एक पल्ट घुमेर आउछौ ल। हम्, बुहारी पनि उतैबाट ल्याउछौ है ।’
मेरो मितले पाको मौला भनिहाल्यो – ‘के उताबाट ल्याउँथ्यो ! यतैकीलाई मन पराइसक्यो । चिनजान गर्न मात्रै बाँकी छ, गर्यो भने त पक्कै बिहे गर्छन् यी दुई।’
‘मैले उताबाट ल्याउँछ पो भनेको त, उतैकीलाई ल्याउँछ काँहा भन्या हो र !’ बुढाले कति छिटो आफ्नो कुरा सच्याए । चतुरे बुढा । मितले फेरी बोल्नु अगाडि नै मैले बोलीहालें – ‘अनि धनसम्पति कति कमाउँछु त बा?’
‘धनसम्पति त ठिकै कमाउँछौ । प्रशस्तै चैं कमाउदैनौ तर पुग्ने चैं पक्कै कमाउछौ। सम्पति पुगेन भन्नु चैं पर्दैन ।’ बुढाको यो जबाफले मन प्रसन्न भयो। बुढाले साँच्चै हात पढ्न जानेका रछन् जस्तो नि लाग्यो । अरु ज्तोतिस भइदिएका भए मैले जे सुन्न चाहान्थें, त्यहि भन्थे होलान् । तर किन किन बाको जवाफ मलाई ठिक लाग्यो । पढाइ, स्वास्थ्य, सम्पति सोधिहालें, बुढाले प्रेमलाई पनि जोडिदिहाले । अब सोध्ने विषय नि बचेन । अनि हात हेर्ने कार्यक्रमको पनि समापन भयो ।
बाले आफू जवान हुँदाको कथाहरु सुनाउन थाले । मैले पनि आफ्नो कान ठाडो बनाएर सुनें । एकदम रोचक थिए उनका कथाहरु । उनले गरेको दु:खकष्ट र प्ररिश्रमहरु पनि सुनाए । उनको समयको समाज र देशको विवरण पनि सुनाए अनि अहिलेको अवस्थासँग पनि दाँजे उनले । बुढाको कुरा सुन्दासुन्दै समयले नेटो काटेछ । घर फर्कने बेलामा एउटा चुरोटको प्याकेट किनेर दिएँ मैले उनलाई । बुढाले ‘भाग्यमानी भएस्’ भनेर आशिर्वाद बट्टा गोजीतिर हाले।
यहि नै थियो उहाँसँगको पहिलो भेट । आफ्नो हजुरबा सानैमा बित्नु भएकाले पनि मित हजुरबा मेरालाई निकै प्यारा भए । फेरीफेरी जाँदा म सधैं चुरोट कोसेली लगिदिन्थें । बुढा बिस्तारै बिस्तारै थला पर्दै गए । खोक्दा पनि रगत खोक्न थाले। अनि बल्ल मैले चुरोट लगिदिन छाडें । तै पनि भन्थे – ‘आज चुरोट ल्याइनस् नाति?’ आज तै डाक्टारले भनेको कालो धब्बाले उँहाको ज्यान लिएको छ । ग्लानी भइरहेको छ मलाई, सायद मैले ती चुरोटका बट्टा नलगिदिएको भए, हजुरबा पहिले झैं बरन्डामा बसेर मसँग गफ चुटिरहेका हुन्थे कि !
अनुपम दहाल
२०७२।०७।०५
२०१५।१०।२२