राम:
ती दुई आखाँले उसैलाई हेरिरहन्छन् । उसले पनि केहिबेर तीनै आखाँलाई हेरिरहन्छ, मानौं आँखा जुधाइ चलिरहेको छ । अन्त्यमा हार उसकै हुन्छ र लाचार भएर ती दुई आँखाका नजरबाट पन्छिन खोज्छ । तर उ जता गएपनि ती आँखाले उसैलाई पछ्याउँछन् । गिज्याइरहेका छन् तीनले उसलाई । रातो पीरो भएर उसले ल्यापटपको स्क्रीन झ्याप्प बन्द गर्छ । ती आँखाका नजरबाट उ फुत्किन्छ । उसले आनन्दको सास लिन्छ । अनि बल्ल उसले भित्तामा टाँगेको फोटोफ्रेमको क्यान्भासबाट तिनै आँखाले उसलाई हेरेर हाँसीरहेको चाल पाउँछ । आफैंले त्यो तस्वीर त्यहाँ झुण्ड्याएको कस्तो बिर्सेको ! उसमा फेरी छटपटी बढ्छ । उसकै सृजनाले उसलाई किन यस्तो जिस्काएको ? किन यस्तो सताएको ? दुई हप्ताको परिश्रम र मेहेनतले उसले त्यो तस्वीर पुरा गरेको थियो । दुई हप्ता लगाएर त्यो निर्जीव आँखा र मुहारमा प्राण भरिदिएको थियो । साँच्चै भन्ने हो भने त यदि उसले क्यान्भासमा कलम नचलाईदिएको भए त ती आँखाको अस्तिस्व नै हुने थिएन । न ती आँखालाई कसैले देख्न पाउँथे, न ती आँखाले अरु कसैलाई । कृतज्ञ हुनु त कता हो कता आफ्नै सृजकलाई सताईरहेका छन् ती आँखाले । ‘चपला’ नाम राखिदिएको पनि उत्तम लाग्यो । उसको त्यो एकोहोरो हेराईबाट बच्न उ कोठाबाटै बाहिर निस्किन्छ ।
चपला:
रामको सिरान भएको ठ्याक्कै अगाडिको भित्तामा फोटोफ्रेम छ । फोटोफ्रेमभित्र क्यान्भास छ र क्यान्भासमा चपला छे । चपलाका लहराउँदा कपाल छन् । ठाउँठाउँमा प्रकाश परेर उसका केश टलक्क टल्केका छन् । स्वतन्त्र र खुला छन् उसका केश । उसको निधार कपालले आधाजस्तो छोपिदिएकाले अलि सानो जस्तो देखिन्छ । उसका आँखा गहिरा छन् । कसैको छाया प्रतिबिम्बित भएको जस्तो देखिन्छ ती आँखामा । उसको नाक अलि चुच्चो छ । उ खुला हृदयले हाँसी रहेकी छे । उसका हँसाइका कारण उसका दाँत प्रष्ट देखिएका छन् । उसका दाँत कतै बाङ्गा टेढा छन् तरपनि उसको सौन्दर्य अझै बढाइदिएका छन् । उसलाई याद छ, सबैभन्दा पहिले उसका आँखा बनेका थिए । आँखा बन्ने बित्तिकै आफ्नो सृजकलाई देखेकी थिई उसले । एकदमै ख्याल गरी, कतै बिग्रिएला कि भन्दै बिस्तारी बिस्तारी कलम चलाउँदै रामले उसलाई बनाएको थियो । यसरी होस गर्दागर्दै पनि कत्ति पटक बिग्रिएर मेटाउँदै फेरी बनाउँदै पनि गरेको थियो उसले । चपलालाई याद छ, आँखा पछि उसको अनुहारको आकृति बनेको थियो अनि क्रमश: कपाल, नाक, मुख र अन्य भाग बनेका थिए । उसलाई बनाईसके पछि रामले आफ्नो हक जमाउँदै हस्ताक्षर पनि गरेको थियो छेउमा । अनि बल्ल ‘चपला’ भनेर छेउमा उसलाई नाम दिएको थियो । सबै थोक सकिएपछि एक छिन नियालेर हेरेको पनि थियो उसलाई । साह्रै प्रसन्न थियो उ । हस्ताक्षरबाट चपलाले आफ्नो सृजकको नाम थाहा पाएकी थिई ।
राम:
चपलालाई तयार गरिसकेपछि हेर्दा रामले चपलाको हेराई खुब मन पराएको थियो, चुम्बकीय आकर्शण थियो त्यो हेराईमा । उसले अहिलेसम्म बनाएको तस्वीरहेरुमध्य चपला नै सर्वोकृष्ट थिई । उसले कसैको प्रतिबिम्बको रुमा चपलालाई बनाएको थिएन । उसको कल्पनाबाहिर त्यहि क्यान्भासमा मात्रै चपलाको अस्तित्व छ । आफ्नो कला-सृजनाबाट मोहित भएर ओछ्यानबाटै देखिने तरिकाले फोटोफ्रेममा हालेर चपलालाई भित्तामा टाँगेको थियो उसले । सुरुका केहि दिनमा चपलालाई हेरेर हराउँथ्यो उ । चपलाको निरन्तर हेराईबाट उ छक्क पर्थ्यो । कति उसैलाई हेर्न सकेकी ? फेरी उ मुस्कुराईरहन्छे । उसका आँखा झिम्काउन पनि पर्दो रहेनछ, बिझाउँदा पनि नबिझाउने । अनुहारका माम्सपेटीहरु पनि गल्दा नहेनछन् । तर चपला एक तस्वीर मात्र हो । तस्वीरको विशेषता त कलाकारको कलाकारीतामा निर्भर गर्छ । चपलालाई त उ आफैंले बनाएको । र आफ्नो कलाकारीतामा उसलाई कुनै शङ्का थिएन । उसैले त्यस्तो बनाएकाले त उसले त्यसरी हेरेरहेकी । अनि तस्वीरलाई के आँखा बिझाउनु र के थकान महसुस हुनु ! फेरी कोठामा उ बाहेक अरु कोहि भइदिएको भए, त्यस व्यक्तिले पनि त्यहि अनुभब गरिरहेको हुन्थ्यो । चपलाले त्यहि व्यक्तिलाई हेरिरहेकी हुन्थी । चपलाले उसलाईमात्रै काहाँ हेरेकी हो र ! त्यो त उसको भ्रम मात्र हो । चपला एक अमूर्त वस्तु मात्र हो । उसको कलाकारीताको उत्कृष्ट नमुना ।
चपला:
चपला रामलाई हेरिरहन्थी । राम नै उसको निर्माता थियो । रामले गर्दा नै उसमा प्राण थियो । रामले नै उसका आँखामा धार दिएको हो र हाँसोमा सौन्दर्य । रामले गर्दा नै उसका कपाल त्यस्ता थिए र उसका त्वचा कोमल । रामले नै उसको मुहारमा चञ्चलाता र निश्चलताको मिश्रित भाव भरिदिएको हो । त्यसैले रामलाई उ हेरिरहन्थी । राम पनि उसलाई हेरेर टोलाउँथ्यो । अनि लाज माने जसरी रातो-रातो हुँदै नजर हटाउँथ्यो । रामले लजाउनु पर्ने कुनै कारण थिएन । कलाकारको आफ्ना कलाकृतिसँग आत्मीय सम्बन्ध हुनुपर्छ जहाँ लाज, ईर्ष्या, डर, रिस जस्ता भावना विलिन हुन्छन् । कलाकृति भनेको त कलाकारकै एक हिस्सा, उनीहरुकै एउटा पाटो । के यो कुरा रामले बुझेको थिएन ? नत्र आफैंसग किन यस्तो लाज ? उसले रामलाई गरेकी पनि के थिई र, त्यसरी लजाउनु पर्ने । उसले हेर्दैमा त्यसरी लजाउनु पर्ने त थिएन । फेरी उ त एउटा तस्वीर मात्र हो । उसले हेरेको पनि थाहा थिएन होला रामलाई । यहि कुरा रामलाई सोध्न चाहान्थी उ तर राम तस्वीरसँग काहाँ बोल्थ्यो र ! बोल्न पनि हुँदैनथ्यो । भित्तामा टाँगिएको क्यान्भासको पात्रसँग बोलेको देखे सुने उ पागल ठहरिन्थ्यो । यस कुरालाई उसले राम्ररी बुजेकी थिई ।
राम:
रामालाई चपलाको नजरले गलाएको निकै भैसकेको छ । चपलाका हेराईबाट भागेर पनि जान नमिल्ने कुरा उसले थाहा पाइसकेको छ । उसले यस अघि पनि थुप्रै तस्वीर नबनाएका होइनन् तर पनि यस्तो कहिल्यै भएको थिएन । के उसलाई प्रेम त भएन चपलासँग ? को कलाकारलाई आफ्नो रचनासँग प्रेम नहोला र ! तर के यो प्रेम भिन्न छ ? के यहि कारणले चपलाको हेराइबाट उ लल्याकलुलुक हुन्छ ? मोना लिसाको तस्वीर सकिएपछि के दा भिन्चीलाई पनि यस्तै भएको थियो ? अहँ, होइन, उसलाई कसरी प्रेम हुन सक्छ एउटा तस्वीरसँग ! चपलाको त आत्मा पनि छैन होला । फेरी काहाँ आफूलाई दा भिन्चीसँग तुलना गर्न खोजेको ! त्यस बेलाको समय, परिवेश नै फरक थियो । तुलना गर्नै मिल्दैन । तर फेरी समय र परिवेश जति नै परिवर्तन भए पनि सन्तानप्रतिको आमाको ममता कहिल्यै बदलिन्न । त्यस्तै त हो नि माया, प्रेम र कलाकारको रचनासँगको सम्बन्ध । कसरी बदलिन्थ्यो र ! जे होस्, चपलासँग उसको प्रेम भएको छैन । नत्र भने किन उसलाई रिस उठ्न थालेको छ चपलालाई देख्ने बित्तिकै हिजोआज ? उसका ती जिस्काइरहने नजर किन मन पर्न छाडेको छ ? होइन, यो प्रेम हुनै सक्दैन । बरु चपलालाई देख्दा त रिसका साथसाथै अलिअलि घृणा पनि मिसिन थालेको छ ।
चपला:
राममा आएको परिवर्तन चपलाले पनि महसुस गरेकी छे । उसप्रतिका रामका लजाजु र समर्पणका भावनाहरु दिन प्रति दिन हराउँदै छन् । रामका नजरमा उसले उपेक्षा बढि पाउँछे । त्यो उपेक्षा बढ्दै गएर चरम बिन्दुमा पुगेपछि एकदिन रामले उसलाई ठूलै चोट दिन्छ । निकै बेर तिरस्कारका हेराईले हेरे पछि कोठै गुञ्जयमान हुने गरी राम भन्छ – ‘चपला! तँ त घृणा गर्न मात्रै लायक छेस् । ’ रामका ती रुखा शब्दले उसलाई उचालेर फेरी भुइँमा पछारिदिन्छ । उसले धेरै दिनदेखि रामका घृणालाई देख्दै सँहदै आएकी थिई तर उसले यस्तो वचन बोल्ला जस्तो लागेको थिएन । मान्छे कति कठोर हुन्छन् । केहि कुरा आफूले भने जस्तो अलिकति भएन भने पनि त्यसलाई हेला, तिरस्कार र घृणा गर्न थाल्छन् । कति क्रुर स्वभाव । तर उसलाई राम आफैंले बनाएको । उसले चाहे जस्तो पनि त बनेकी छे उ । नभए उसलाई यसरी फ्रेममा हालेर राख्नुको कुनै औचित्य थिएन । फेरी राममा कोठमा उ बाहेक अरु कुनै तस्वीर पनि र थिएनन् । घृणा गर्नलाई कसैले कुनै तस्वीर फ्रेमभित्र राख्दैन । फेरी उसलाई रामले पहिलेदेखि नै उपेक्षा गरेको पनि होइन । त्यसोभा उसमा के परिवर्तन आयो यसरी घृणीत हुन लाई ? उ त जस्ती थिई त्यस्तै छे । उसले चिच्याई चिच्याई यहि कुरा रामलाई सोध्छे तर कतैबाट कुनै आवाज आउँदैन । उसले रामलाई घचघच्याएर सोध्न फ्रेमबाट बाहिर निस्किन खोज्छे तर उसका प्रयासहरु सबै असफल हुन्छन् । अनि बल्ल आफू एक तस्वीर मात्र भएको कुरा सम्झन्छे । अनि उसलाई पहिलोपल्ट आफूलाई फ्रेममा राखेर सुसज्जित गरेको होइन, कैदमा राखेको अनुभव गर्छे । उ फ्रेममा नभइदिएकी भए, उसलाई हुरीले कतै उडाएर लैजान्थ्यो की ! अरु कसैले टिपेर लैजान्थ्यो कि ! यसरी घृणीत भएर बस्नु पर्ने त थिएन ।
केहि दिन पछि:
आज रामको कोठमा उसको एउटा साथी आएको छ । सबैभन्दा पहिले उसको नजर चपलामा पर्छ । अनि रामलाई सोध्छ –
‘को हो यो ? कसको तस्वीर ?’
‘कसैको होइन । आफैं बनाको ।’ रामको सहज उत्तर आउँछ ।
साथी चपलालाई नै हेरेर टोलाएपछि राम आफैंले सोध्छ –
‘मन पर्यो ?’
‘राम्रो कलाको कदर गर्न मलाई राम्ररी आउँछ । यो तस्वीर उच्च स्तरीय छ । त्यै भएर फ्रेममा हालेका होलाउ । मन त पर्ने नै भयो नि ।’
‘लैजान्छौ त ?’
‘तिम्रो तस्वीर मैले कसरी लैजानु ? जति नै मुल्य दिए पनि यस्तो कलाको लागि कम नै हुन जान्छ । फेरी म कुनै मुल्य तोकेर तिम्रो कलाकारीता र कलाकृतिको अपमान गर्न चाहान्न । ’
‘मैले मुल्य देउ काहाँ भनेको हो र ! तिम्रो लागि मेरो उपहार भयो, मन पर्यो भने लैजाउ । ’
‘उपहार नै दिने भए कुनै अवसर मिलाएर देउ । यत्तिकै लान्न ।’
‘भोलि तिम्रो जन्मदिन होइन र ?’
‘त्यो त हो तर मैले भोलि नै उपहार देउ भनेको होइन । आफ्नो रचना हो, कसैलाइ दिनु अघि एक पटक राम्ररी सोच्नु पर्छ । भोलि मलाई दिएछौ भने राम्ररी सोचेर मात्र दिनु ।’
चपला:
दुईजानाको कुराकानी सुनेर उ झन् निराश भएकी छे । लौ न, यो रामले के गर्न लागेको ? उसको घर भन्नु पनि संसार भन्नु पनि त्यै रामको कोठा हो । रामलाई उसप्रति अलिकति पनि लगाव छैन र त्यति सजिलै ‘लैजान्छौ?’ भनेर सोधेको ? लगाव त साना तिना कुराबाट पनि बस्छ । तर रामले कति सजिलै उसलाई पर पठाउन खोजेको । उ यदि रामलाई त्यस्तै अप्रिय र असहनीय भएकी भए बरु आफैंले उसलाई च्यातिदिओस्, जलाईदिओस्, मेटादिओस् । यो उसलाई मान्य छ । तर यसरी कुनै भावनाहिन बस्तु साटासाट गरे सरह उसका भावनामा खेलवाड नगरोस् । यो भने उसलाई मान्य छैन । रामले यदि उसको साथीलाई दिएको खण्डमा उसले निसंकोच घृणीत हुनु पर्ने थिएन । उसले सम्मान पाउने थिई । उसलाई कुनै शोभायमान ठाउँमा राखिने थियो । उसका कुराबाट यो कुरा प्रष्ट थियो । तर घर भनेको त आफ्नो मन जहाँ छ, त्यहि हो । र चपलाको घर राम भएकै ठाउँमा छ । उ घृणीत भएरै बाँच्न तयार छे । अरुको भित्तामा महारानी भएर बाँच्नु भन्दा रामको भित्तामा क्यान्भासकी कैदी भएर बाँच्न तयार छे । अरुको मायाभन्दा रामकै उपेक्षा स्वीकार छ उसलाई ।
राम:
रामलाई निन्द्रा परेको छैन । सुत्न नसकेर कोठाको बत्ती बाल्छ । बत्ती बल्नु लगतै चपलाका दृष्टि उसमा पर्छन् । तर अहिले चपलाका दृष्टि भिन्न छ । चपलाले उसलाई जिस्काईरहेको कत्ति पनि आभाष भएको छैन । केटाकेटि धेरै चकचके भए भने, आमाबाबु बिना कतै पठाइदिने कुरा गर्नु पर्छ, उनीहरुको चकचक बन्द हुन्छ । चपलालाई पनि भोली अर्कैलाई दिने भएपछि अहिले निर्दोष बन्दै छे । भोलिदेखि आनन्द हुन्छ । उ फेरी बत्ती निभाएर सुत्छ । निदाउँछ पनि र सपना गजबको देख्छ । सपनामा उ नौलो ठाउँमा पुग्छ । वरीपरी अपरिचित व्यक्तिहरु मात्रै हुन्छन् । उनीहरुको भाषा पनि उ बुझ्दैन । उ काहाँ छ भनेर एउटा समुहसँग सोध्छ । तर सबै आश्चर्यचकित भएझैं अपमानित भएर हेर्छन् । उसले पनि अप्ठेरो मान्दै केहि अरु कुरा पनि सोध्छ । तर उसले जति बोल्दै गयो, त्यति नै रिसाउँदै गएर अन्त्यमा सबैले उसलाई कुट्छन् । मध्यरातमै उ ब्युउँझिन्छ । आफ्नो सपनाको उसले विश्लेषण गर्छ । किन उसले कुटाई खायो ? अनि एउटै निष्कर्षमा पुग्छ । उसका कुराको अरुले गतल अर्थ लगाएको हुनुपर्छ । नत्र उसले कुटाई खाने काम नै के गरेको थियो र ! तिर्खाएको हुनाले बत्ती बाल्छ । चपलाका आँखाले उसलाई टुलुटुलु हेर्छन् । अनि बल्ल उसले सबै कुरा बुझ्छ । समस्या चपलाको हेराईमा होइन, उसको बुझाईमा रहेछ । एकाएक चपलाप्रतिका सबै घृणा हराएर जान्छन् र मनैबाट लज्जीत हुन्छ । अनि जसले मागे पनि, जसले किन्न खोजे पनि चपलालाई आफू सँगै राख्ने निर्णय गर्छ ।
२०७२।१२।१९