सुरजको दिन

सुरज निन्द्राबाट झल्यास्स बिउँझ्यो ।

ओहो ! कस्तो नराम्रो सपना देख्या? आज रिजल्ट आउन सक्छ, सपना भने यस्तो देख्छु । भै गो छोड्दे, सपना भनेको सपना मात्रै हो ।

उसले अनजान मै आफ्नो गाला कन्याइरहेको थियो ।

ओहो ! दाह्री पनि कति लामो भइसकेछ, चिलाको चिलाइ । काटिदिन्छु आज त । बिहान नै रै’छ, एकछिन सुत्छु ।

फेरी सिरकले मुख छोपेर सुत्यो ऊ । बिहानको निन्द्रा, निदाइहाल्यो ।

उ फेरी उठ्दा ७:३० भइसकेको थियो । हतार हतार हात मुख धोएर दाह्री काट्न रेजर ब्लेड खोज्न थाल्यो उसका बाको । पहिलो चोटी दाह्री काट्न लागेको थियो, आफ्नो छुट्टै रेजर निकेकै थिएन । पलङको घर्रामा भएको रेजर र ब्लेड भेटेपछि ऐना अगाडी दाह्रीलाई पानीले राम्ररी भिजाएर हातमा रेजर लिएर उभियो ।

दाह्री काट्ने हुँदा गाला काट्न चाहिँ भएन । बिस्तारै बिस्तारै ब्लेड चलाउनु पर्छ । नत्र सबैतिर काटिएको गाला लिएर क्याम्पस गइयो भने केटाहरुले गिज्याएरै मार्छन ।

आफैंले गिज्याएको पनि सम्झ्यो धेरैलाई । त्यसैले आफ्नो सबै ध्यान ऐना र रेजर ब्लेडमा एकिकृत गरेर एक चोटि रेजर के चलाएको थियो, गोजीको मोबाइल घ्बार्र करायो ।

ऐया ! कसले फोन गर्यो यहि बेला फेरी !

ऐनामा उसको प्रतिबिम्बको गालामा रातो धर्सो आइसकेको थियो ।

धत्, पहिलो गाँसमै ढुङ्गो ।

गोजीबाट फोन झिकेर उठायो ।

‘हेलो ।’

‘पेन ड्राइभ ल्याउन नबिर्सि है ।’, अनन्तले भन्यो ।

‘ल्याइदिहाल्छु नि ! यति कुरो भन्नलाई मेरो गाला कटाउनु पर्छ?’ रिसले मुर्मुरिदै उसले भन्यो ।

‘के भन्छ यो?’

‘पछि भनम्ला ।’ भन्दै फोन काटिदियो ।

अब चैं अरु गाला नकाटि काट्छु ।

त्यै पनि दाह्री काटिसक्दा उसका गालामा अरु दुइटा धर्सा बसेका थिए । आफ्नो चिल्लो अनुहार ऐनामा देख्दा कक्षा ११-१२ को आफैंको झझल्को गर्यो ।

छि ! कस्तो बच्चा जस्तो देखिँदो रछु ।

आमाले पनि ठ्याक्कै त्यहि बेलामा खाना खान बोलाउनु भयो । धेरै दिन अघिदेखि ‘दाह्री काट् न बाबु’ भन्नु भएको आमाले उसको चिल्लो अनुहार देखेर मुसुक्क मुस्कुराउनु भयो, केही भन्नुभएन । त्यसका लागि ऊ आभारी भयो । आमाले सधैं झैं उसको कुरा बुझिदिनु भो, कुनै कमेन्ट गरिदिनु भएन । खाना खाएपछि सरासर झोला भुइँबाट टिपेर क्याम्पसका लागि निस्क्यो ।

गाडी चढ्ने ठाउँमा पुग्दा गाडी नै छैनन् । यात्रुको भीड भइसकेको थियो । बल्लतल्ल एउटा गाडी आयो, सबै मान्छे अटाउने मौकै थिएन । सधैं त्यही गाडी चढेको अनुभब र जुक्ति लगाएर, ठेलठाल गर्दै बल्लतल्ल गाडीमा चढ्यो । भदौको महिना, घाम चर्केकोले गर्मी बढेको थियो । बीच बाटोमा पुगेपछि गाडी रोकियो । अगाडी गाडीको निकै लामो लाम थियो ।

साला, आजै चैं जाम पर्नु पर्ने ! ल्याब रिपोर्ट गर्नै छ आफ्नो ।

उसै त गर्मी थियो, झन् जामले गर्दा उसलाई फेरी झनक्क रिस उठ्यो ।

एउटा मोटरसाइकल चिट्ठामा परे पनि हुने, समयमा ठाउँमा त पुगिन्थ्यो ।

रिसले मुर्मुरिदै गाडीमा बस्ने बाहेक ऊ केही गर्न असक्षम थियो । जाम आफ्नै समयमा खुल्यो । क्याम्पस आइपुग्दा अचम्मै गरी ५ मिनेट मात्र ढिलो भएछ । वरिपरि आफ्नो कक्षाका कोहि थिएनन् ।

सर छिरिसके जस्तो छ पढाउन ।

कक्षामा नगएर ऊ क्याम्पस भित्रको चौतारीमा गएर बस्यो, बाटो हेर्दै, प्रतिक्षामा ।

५ मिनेट यत्तिकै बितिगयो, ऊ आइन ।

हैन, आज त अनुहार हेरेरै जान्छु । हुने ढिला भइसक्यो, मोरीलाई नदेखेको पनि जुगौं भइसक्यो । आउने बाटो यहि त हो नि ।

अझै १५ मिनेट बितिगयो, तै पनि ऊ आइन ।

हैन, आउदिन कि क्या हो आज । एहे, ल्याब रिपोर्ट पनि पो गर्नु छ त । मोरी पनि सायद आइसकि होला, दिउसो देखा पर्ली नि !

कक्षामा पछाडी पट्टीको ढोकाबाट सुटुक्क पस्दै अन्तिम सिटमा बस्यो । अगाडी बसेको सत्याललाई कोट्याउँदै बोलायो । सत्याल पछाडी के फर्केको थियो गलल हाँसिदियो । सबैले उसैतिर हेरेर हाँस्न थाले । पढाइरहेका शिक्षकले किन विध्द्यार्थी यसरी हाँसे बुझ्नै सकेनन् । बुझेका भए सायद उनी पनि हाँस्थे होलान् । खैर, ‘किन हाँसेको हँ, पढ्न मन छैन?’ भनेर थर्काए जस्तो गरेपछि सबैजाना चुप लागे । उसले पनि त्यहि मौका पारेर रिपोर्ट माग्यो सत्यालसँग ।

‘मैले त गरेको छैन, तँ चिल्लेलाई कसरी दिनु? जे होस्, हिरो देखिएको छस् ।’ जवाफ आयो ।

एकछिन पछि अनन्ते पनि आइपुग्यो, हातमा ए४ पेपर लिएर । पछाडीको ढोकाबाट आएकोले उसकै छेउमा बस्यो । ए४ पेपरमा रिपोर्ट गरिसकेको रहेछ । के खोज्छस् काना, आँखो ? सरासर सारिदियो ।

‘रिजल्ट अस्ती पनि आएन, हिजो पनि आएन, आज पनि आउला जस्तो छैन यार ।’ अनन्ते भन्दै थियो।

‘जहिले सुकै आओस्, आफू पास हुने हैन ।’

तै पनि पास हुने झिनो आश उसमा छदै थियो । नभन्दै कक्षाको बीचतिरबाट ‘रिजल्ट आयो’ भनेर यौटाले चिच्यायो । सबैले हतार हतार आ-आफ्नो मोबाइल झिकेर हेर्न थाले ।

‘हेर्न यार तँ पनि ।’ अनन्ते उत्साहित भयो ।

‘पैसा न सैसा, रिजल्ट हेर रे ! मोबाइलमा एक सुका पनि छैन, हेरिहाल्छन् नि केटाहरुले ।’

कक्षामा सधैं हुने सानो गफगाफ ठूलै होहल्लामा परिणत भएको थियो । शिक्षकले कुरो बुझेर हाजिर गरेर गए, पढाएनन् । सुरज भने रिजल्टको डरले चिसो भइसकेको थियो । अगाडीबाट यौटाले पास हुनेहरुको क्रमाङ्क भन्न थाल्यो । पहिलै अनन्तेको आइहाल्यो । अरुहरुको पनि आए, सत्यालको आएन, सुरजको पनि आएन । तर बिहानको जस्तो उसलाई रिस उठेन । आधाभन्दा बढि फेल भएका थिए । जे होस्, उसको नभएको दाह्रीको निहूँमा कसैलाई गिज्याउन रहर भएन, सबै आफ्नो रिजल्टबाट शोकमग्न थिए ।

‘हिँड चुरोट तान्न जाउँ ।’ सत्यालले भन्यो । केहि नबोली उनीहरु गए क्याम्पस नजिकैको टहरोमा, पास नभएको दु:ख कम गर्न । अरु केटाहरू पनि आए । सत्यालले ४ खिल्ली सल्कायो, उसले ३ । चित्त बुझेन अनि फेरी अर्को एउटा पनि सल्कायो । उसलाई फेल भएको भन्दा पनि घरमा आफू फेल भएको कसरी भन्ने को पीर परेको थियो । १ घन्टा जति बसिसके पछि ल्याबको समय भएकाले क्याम्पसतिर गए सबै। पास हुनेहरुको जमात छुट्टै थियो । कसले रु. ९०० र कसले रु. ११०० पाउने भन्ने विषयमा ठूलो छानबिन हुँदै थियो त्यहाँ । त्यो जमातमा नगइ ल्याबमा छिरेर सारेको रिपोर्ट बुझाइदियो । अनि अरु पनि आफ्नो छानबिन सकिए पछि ल्याबमा आए । काम गरे जस्तो गरेर ल्याबको समय कटायो उसले । केहि बेर मैदानमा  बल खेलेजस्तो पनि गरे, पास नहुने जमातले तर जोश कसैमा थिएन ।

घर जानुभन्दा अगाडी क्याम्पसबाट लाब्धाङ्ग पत्र पनि पाइयो । धन्न एउटामा मात्र लागेछ । सत्याललाई भने दुईटा भारी चढेछ । उसैले दु:ख पोख्दै आधाबाटो मोटरसाइकलमा पुर्याइदियो । अनि अरु आधा बाटो हिँडै गयो घर सुरज । घर पुग्दा साँझ परिसकेको थियो । बा पनि अफिसबाट आइसकेका रहेछन् । ढोकाबाट के भित्र छिरेको थियो ऊ, बाले सोधि त हाले:

‘रिजल्ट आयो रे त, कस्तो गरिस् हँ?’

एक छिन अकमक्क पर्यो ऊ । रिजल्ट आको कुरो बालाई कसरी थाहा भयो? अनि बल्ल उसको घैंटोमा घाम लाग्यो ।

अनन्तेका बा पनि आफ्नै बासँग काम गर्छन त । सालेले सुनाइसकेछ ।

आमा पनि बा पछाडी हुनुहुन्थ्यो । लुत्रुक्क परेर मुन्टो निहुर्याउँदै उसले भन्यो:

‘एउटा लागेछ ।‘

अनि सुरु भो बाको गाली । गाली त धेरै थिए, बुँदागत रुपमा टिपेर सारांस लेख्न मिल्ने तवरको ।

-लाखौँ खर्च गरेर पढाको छु, यहि हो तेरो पढाइ?

-अरुका छोराछोरी ८०-८५% ल्याउँछन्, आफ्नो चैं विषय लाउँछ ।

-अब त मुख देखाउन पनि लाज लाग्ने बनाइस् तैंले

आदि इत्यादि ।

आधा घन्टा जति पछि बा शान्त भए । आमा बोल्नु भएकै थिएन । तर खाना खाने बेलामा बा फेरी सुरु भए । यत्रो बेर त बिश्राम पो लिएका रहेछन् । तर यो पटक उसलाई गाली गर्नु भन्दा बढि आफैंसँग बोल्दै थिए ।

‘कति कराइ राख्या होला, एउटै त लागेको हो नि ! अर्को चोटि कटाइहाल्छ नि । कराएर के हुन्छ?’ आमाले उसको पक्षमा बोलिदिनु भो । आमाले फेरी उसको मनको कुरो बुझिदिनु भो ।

धन्य हुनुहुन्छ तपाईँ ।

आमाको कुरा सुनेपछि बा चुपाचाप खाना खानुभो । आमाले केबल बालाई चुप लगाउनु भएको थिएन । उहाँले सुरज प्रतिको आफ्नो आशा, बिश्वास र भरोसा अप्रतक्ष रुपमा उसलाई सुनाउनु भएको थियो ।

सबैका आमा मेरी आमा जस्तै होलान् त? अहँ, मेरी आमा महान् हुनुहुन्छ । अक्षर नचिने पनि ज्ञानी हुनुहुन्छ, बुद्धिमान् हुनुहुन्छ ।

खानपिन गरिसके पछि ऊ आफ्नो खाटमा थकित मुद्रामा पल्टेर फेसबुक खोल्यो । सुचना आएको थियो यो दिन यसको र त्यो दिन त्यसको एसेसमेन्ट भनेर । पढेको फिट्टो थिएन । उसले पठाएको रिक्वेस्ट पनि रिक्वेस्ट मै सिमित थियो, न त स्वीकृत भएको थियो न त तरस्कृत ।

न रिक्वेस्ट एसेप्ट गर्छे न त रिजेक्ट । २० मिनेट कुर्दा पनि दर्शन दिन्न, के चैं गर्नु पर्यो त अब?

सुत्ने बेलामा उसले संकल्प गर्यो ।

अब चैं दाह्री काट्दा पनि गाला नकाटि काट्छु । राम्ररी पढेर पास हुन्छु । आउने एसेसमेन्टमा त टपै हान्छु । रिपोर्ट सधैं घरमै गर्छु । मोरीलाई देखें भने जसरी भए पनि बोल्न जान्छु । चुरोट पनि तान्दिँन। अनि आजको जस्तो नराम्रो सपना पनि देख्दिन, देखि गएँ भने पनि बीचमै उठिदिन्छु ।

तर उसलाई थाहा थियो यस्ता संकल्प उसले हिजो पनि गरेको थियो र अस्ती पनि तर काममा कुनै परिवर्तन छैन, जस्ताको तस्तै । तै पनि इन्जिनियरिङको बिध्द्यार्थी भएका कारणले भोली चाहिँ आफ्नो संकल्प पुरा गर्ने ढृडताका साथ निदायो । दिन जतिसुकै नराम्रो भए पनि फरक भोलीको आशाका साथ निदायो ।

-अनुपम दहाल

२०७२।०४।३१