लघुकथा-१

गाडि चढ्ने बिसौनीमा भेट भएको पनि लगभग एक वर्ष नै हुन लागी सकेको थियो । यहि क्रममा यी दुईबीच राम्रो चिनजान भएर गाढा सम्बन्ध गासीँई सकेको थियो । तर कस्तो सम्बन्ध? दुबैलाई थाहा थिएन । कुराकानी त सधैं हुन्थे, त्यहि बिसौनीमा गाडि नआउन्जेल । आज पनि लगभग एक वर्षपछि उनीहरु उहि बिसौनीमा आ-आफ्ना गाडि कुर्दै छन् ।

‘छ्या गाडि पनि कस्तो नआको!’ उनको गुनासो थियो ।

‘जाउ न त लिफ्ट मागेर, तिमीलाई त जसले पनि दिइ हाल्दा हुन्!’ उसले पनि आफ्नो तर्क पोख्यो ।

‘लिफ्ट माग्ने तिम्रो बानी होला, आफ्नो त छैन । बरु लखरलखर हिँड्दै गइन्छ ।’ अलि घमण्डका साथ जवाफ फर्काइन् ।

‘तेसोभा त गाडि नै कुर न त, किन गुनासो गर्छ्यौ?’

‘भीड हुन्छ नि, बस ढिलो आयो भने, चढ्नै सकिदैन ।’

‘छतमा बसेर चिसो हावा खाँदै जाउ न त ।’

‘लडें भने?’

‘यत्रा मान्छे लडेका छैनन्, तिमी मात्रै लड्दिनौ होला, च्याप्प डण्डि समाउ न डर लागे ।’

‘भो, छतमा त जान्न ।’

‘के गरूँ त? मेरो गाडि छैन नत्र मै पुर्याइदिन्थें ।’

‘उस उस! कत्ति न पुर्याइदिने जस्तो । बरु तिम्रो पनि गाडि आएन, हिँडेरै जाउ तिमी पनि ।’

‘हिँड्नै मन लाग्दैन मलाई त, बरु छतमै बसेर भए पनि गाडिमै जान्छु ।’

‘कस्तो लोसे मान्छे होला त तिमी, तै आधा घन्टा, १ घन्टा हिँड्न सक्दैनौ?’

‘ल! हिँड्न त के छ र, चार घन्टा पनि हिँड्छु नि । साधन दुई खुट्टा छँदैछन्, माध्यम यति धेरै बाटाहरु छँदैछन्, र पुग्न लाई गन्तव्य पनि छँदै छ ।’

‘अनि किन नहिँडेको त?’

‘तिम्रो सहयात्रा छैन, अनि नहिँडेको । त्यो भइदिए त गाडिमा पाइला पनि टेक्ने थिँइन ।’

‘अँ, तिमीलाई साथी जानु त म? तिमी जाने एकातिर, म जाने अर्का तिर, कुरै मिलेन नि ।’

‘हेर, त्यहि कैलाश पर्वतबाट निस्केका नदिहरु एउटा पाकिस्तानबाट, दुईटा नेपालबाट र एउटा बङ्लादेशबाट बग्दै एउटै समुद्रमा मिसिन्छन् । हामी पनि त्यस्तै हौं । सधैं बङ्लादेशबाट बगिन्थ्यो भने आज नेपालबाट पनि बग्नु पर्छ । पुग्ने त उहि ठाउँमा हो ।’

‘म त सक्तिन त्यत्रो घुम्न, उता जा अनि फेरी घुम् ।’

‘तिमीलाई कस्ले घुम भन्यो त, म घुमौला नि! तिमी हुन्छ मात्रै त भन ।’

‘लौ हिँड न त जाऔं । पछि खुट्टा दुख्यो चैं नभन नि ।’

…………
…………
…………

आज दुबै जाना गाडि नकुरी पैदल यात्रा मा निस्किएका छन् । यसरी भारतको नाकाबन्दिले गर्दा उनीहरुको सम्बन्धले नयाँ मोड लिएको छ ।