चिनजान – अनुज पोख्रेल
सबेरै उठ्ने बानी मलाई कहिल्यै लागेन । साला कति कोसिस गरियो तर बिहानीपखको मेरो निन्द्रालाई भंग गर्ने केहि चिज भेटिनँँ मैले । कहिलेकाँहि बिहान चाँडै उठ्नु पर्ने काम छ भने आफैले आफ्नो बानीलाई हजार पल्ट सरापेर मात्रै उठ्छु । यस्तै मङ्सिरको महिनामा बिहान चाँडै उठ्नु थियो । काम चाहिँ बिहान आठ बजे क्याम्पसको मैदानमा भकुन्डो खेल्नु थियो । सबै सहपाठिको असहमतिका बाबजुद पनि खेलको समय नसार्ने पक्षमा थिएँ म । र त्यस बिहान पनि आफ्नै निर्णयलाई धिक्कार्दै प्राण प्यारो निन्द्रालाई मैले बिदा दिएँ । खेल हारेमा प्रतियोगिताबाटै बाहिरिने थियौं । ओठमुख सुकेकाले चिसो पानी बोतलबाट घटघटि पिइदिएँ । काठमाडौंको जाडोको पानी, दाँतै झार्ने गरीको चिसो रहेछ । अनी निन्द्रा खलबलिएको झोंकमा बिचरा तै निर्दोष पानीलाई नानाथरी सरापें । पौने पाँच भइसकेको थियो अनी हतार हतार गर्दै नित्य कर्ममा लागें । अब पाली आयो पेट पुजाको । नाकाबन्दिले गर्दा ग्याँसको लोभ गर्दै केहि पकाउन पनि मन लागेन । अनि अघिल्लो दिन उब्रेको भात र चना-मटरको रस मुछेर खाइदिएँ । सँगसँगै तात्तातो कफि पनि बनाए । हतार हतार लुगा लगाउँदै भकुन्डो खेल्दा लगाउने जुत्ता, मोजा र सिन गार्ड झोलामा हालें । लुगा लगाउँदै गर्दा थोरै थोरै गरेर सुरुप्प सुरुप्प कफि सकाई दिएँ । अनी जत्ता लगाएर घरबाट रवाना भएँ । दिमागमा खेल मात्र थियो तर मेरा खुट्टा भने वेगमा चलिरहेका थिए । समयमै पुगेर जिउ तताउन पनि थियो ।
यतिकैमा पिङ्गलास्थान पुग्दा त मेरा बेगमा चलिरहेका गोडा टक्कै अडिए, दिमाग एक्कासी रोकियो । मानौं संसार नै एक पलको लागि रोकिएको थियो, चलेको थियो त बस मेरो मुटुको धड्कन । सरासर हिँडि रहेको मान्छे आफ्नो अगाडि अचानक उभिएको देखेर हो कि कुन्नी, पिङ्गलास्थान बस स्टप अगाडि गाडि कुरी रहेकी ती युवतीको ध्यान मतिर पर्यो । उनको र मेरो आँखा जुध्यो । तर त्यसबेलासम्ममा मैले उनलाई शिरदेखी पाउसम्म नियाली सकेको थिएँ । खरानी रंगको जुत्ता र मोजा पनि उहि रंगको । निलो पाइन्ट र खैरो ज्याकेट लगाएकी थिइन् । छोटो स्ट्रेट पारेको कपाल पछााडि एक चुल्ठी पारेर बानेकी थिइन् । ठूला ठूला गहिरा आँखा, घाँटिमा पातलो खालको मफलर हो कि सल, कलात्मक ढंगले बेरेकी थिइन् । चिनेको मान्छे, आत्मिय साथी तर तितो सम्बन्ध । बिडम्बना त्यति मात्र थिएन, मुहारमा माक्स पनि लगाएकि थिइन् र मलाई चिने जस्तो प्रतिक्रिया पनि जनाइनन् ।
के उनी मैले उनलाई बोलाउँ भन्ने चाहान्थिन् वा उनी साँच्चिकै मलाई नचिन्ने कुनै बटुवा मात्रै हुन् ! त्यो एकै पलको सोचाइमा मेरो मष्तिस्कले यो कुराको फरक पत्ता लगाउन सकेन । गएर उनलाई “मलाई चिन्यौ?” भन्ने आँट भएको मान्छे पनि त म पक्कै होइन । आ जे सुकै होस्, मलाई गाडि चढेर क्याम्पस जानु छ । म फेरी पहिलेकै वेग पकड्दै गौशला तिर लागें । बबरमहल जाने गाडि पिङ्गलास्थानमै नरोक्ने चैं हैन तर त्यहीँ पर्खी रहेर मनको द्वन्द्व खप्न सक्ने थिइनँ । खै दैवकै चमत्कार हो कि के हो, कहिल्यै कुहिरो नगाल्ने खाल्डोमा त्यस दिन बाक्लो कुहिरो लाग्या रै’छ । ५।१० मिटर अगाडि के छ पनि नदेखिने । बा यै कुहिरोले गर्दा आउँदै गरेको गाडि पो छुट्छ कि भनेर साइडवाक छाडेर बाटै बटो हिँड्न थालें । म हिँडेको बाटो तल बनकालीको चौरमा त झन् बाक्लो कुहिरो लागि रहेको रहेछ । त्यहि कुहिरो हावाको वहसँगै बग्दै र माथी उठ्दै रिङ् रोडको बाटोलाई ढाकीरहेको थियो । यत्तिकैमा एक पाइला, दुई पाइला गर्दै गौशला पुगें । बबरमहल जाने गाडि एउटै रहेनछ । अब गाडि पर्खनुको कुनै विकल्प थिएन । साइडवाकको रेलिङ्मा बस्नु पर्यो भनेको बिहानीको शितले पुरै भिजेको रहेछ । त्यसैले रेलिङ्को छेउमा उभिएर फेरी बनकालीबाट माथी बाटोमा फिँजिइरहेको कुहिरो हेरें । खास त ती युवतीलाई नै हेर्न खोजें तर कुहिरो, दुरी र मेरा बिग्रिएका आँखा, आशै नगरे हुन्थ्यो । फेरी एक पटक सम्झिन खोजें । दुरुस्तै उस्तै जिउडाल, लुगा लगाई, उचाई, उभीने तरिका, उमेर, केस र समग्रमा उनको शरिरको तरङ्ग सबै दुरुस्तै मेरै साथीको जस्तै थियो । मैले ती युवतीलाई मेरै साथी होइन भनेर मान्नै सकिनँ । तर किन यस्तो तितो व्यवहार त? यो प्रश्नले काँडा झैं घोच्यो मलाई । यस्तै कुरा दिमागमा खेलाएर बसेको २-३ मिनेट हुँदो हो, त्यो बाक्लो कुहिरोको बीचबाट तिनै युवती मतिरै आउँदै गरेको देखें । म झन् डराएँ । मसँग उनीसित बोल्ने हिम्मत थिएन, अघि किन नबोलेको भन्ने प्रश्नको उत्तर थिएन । जवाफ त मसँग उनीसित किन टाढिएको भन्ने प्रश्नको पनि थिएन । न मलाई थाहा थियो कि हाम्रो सम्बन्ध किन खस्रो भयो र सुधार भएन भन्ने कुरा । छेउमै आएर उभिइन् ति युवती । चुपचाप मतिर एकै पटक पनि नहेरी गाडि कुरी रहिन् । बित्दो पलसँगै म अशान्त बन्दै थिएँ । भगवान्ले साँच्चीकै हामीलाई दुई ध्रुबमै छुट्टयाएका छन् । मेरो सबै कुरा सरल छ । म बनेकै त्यस्तै छु । मलाई प्राय बरीपरी के भै रहेछ थाहा हुन्न । तर उनको केहि कुरा पनि सरल थिएन । रिसाएको वा खुशी भएको हो बुझ्नै नसकिने । मलाई मन परेको बा नपरेको काम कुरा म अनकाउँदै भए पनि म व्यक्त गर्छु, तर उनको मन त्यति सजिलै खुल्दैन थियो । र प्राय पुरिएर जान्थ्यो उनकै मनमा । अनि कलबृक्ष भएर उम्रन्थ्यो र विनाशको रुप लिन्थ्यो ।
उनी मभन्दा अलिक अगाडि छड्के परेर उभिएकि थिइन् । त्यो छोटो समयमा सक्दो नियाले उनीलाई, आँखै भरी पारें । मनै भरी त धेरै अघिदेखी पारेकै हुँ । केहि मिनेटको पर्खाइ पछि मेरो बस आयो । आफ्नो अशान्त मन लिएर गाडितिर बढ्न लागेको थिएँ उनी त अघि गाडिको ढोका नेर पुगिसकिछन् । उनको गाडि पनि त्यहि रहेछ । गाडिबाट मान्छे ओर्लिउन्जेल म पनि गाडिको ढोका अघि उभिएँ, उनकै पछाडि । दुवै गाडिमा चढ्यौं तर दुवैले सिट पाएनौं । खलासीले पछाडि सर्नुस त भन्दै दुवैलाई पछाडि नै पुर्याइदियो । अब उनी पछाडि थिइन् र म उनको ठ्याक्कै अगाडि । हामी दुवैले एउटा हात भने माथीको डन्डीमा समाएका थियौं भने अर्को हातले चैं सिटमा । एउटै सिटमा । मैले हामी दुवैका हात हेरें । सँगै थिए हाम्रा हात तर हाम्रो साथ सँगै थिएन । झन् झन् दिक्क हुँदै थिएँ म । यत्तिकैमा साथीको फोन आयो र केहि मिनेट खेलको बारेमा कुराकानी भयो । अनी मन भुल्याउन गोजीबाट इयरफोन झिकें र गित सुन्न थालें । दुई तिन ओटा गित फेरे पछि बज्यो ‘इस्टेयर वे टु हेभेन’ । गाडि आफ्नो कछुवा गतिमा हिँडिरहेको थियो । मान्छे चढ्ने र ओर्लिने क्रम जारी थियो । खलासीले गाडिको गन्तव्य १।२ सय चोटि चिच्याइ सकेको थियो । मान्छेहरु आ-आफ्नै धुनमा थिए । म पनि मेरै धुनमा थिएँ – ती युवतीको पहिचान लगाउने धुन । अनेक जुक्ति सोच्न खोजें तर मेरो दिमागले केहि उपाय निकाल्न सकेन । गाडि तिनकुने पुग्दासम्म मैले हार माने र आफ्नै ठम्याईलाई गलत मान्दै भनें कि यि युवती मेरी साथी होइनन् । हुनै सक्दिनन् । भए पनि जे सुकै होस्, जस्तालाई त्यस्तै ढिँडालाई निस्तै । मेरो नयाँ जोसले केहि क्षणलाई मनलाई शान्ती दियो तर फेरी उब्जियो नयाँ प्रश्न । यदि यी युवती मेरै साथी हुँदि हुन त के हाम्रो भेटघाट यस्तै हुन्थ्यो होला । अकमकिँदो, अप्ठ्यारो र मैले हैन तैंले झुक्नु पर्छ भन्ने स्वार्थले भरिपुर्ण । प्रश्न गम्भिर थियो र उत्तरको कुनै ठेगान थिएन ।
यत्तिकैमा बुद्धनगर पुगियो । उनी गाडिबाट ओर्लिइन् । गाडि एकछिन् त्यहि पर्खि रह्यो । मैले मान्छेका टाउकाटाउकीका बाबजुद पनि उनलाई फेरी हेर्न खोजें । गाडिको अन्तिम सिटमा ठाउँ पाएको थिएँ मैले । उनी पनि गाडिको पछाडि नै गइन् । गाडि पछाडिको धमिलो सिसाबाट उनको आकृतिलाई मात्रै भए पनि हेरी रहें । केहि छिन पछि मान्छेहरुको भिडमा ओझेल भइन् उनी । हराइन् ति युबती मेरा लागि । सायद सधैंका लागि । यत्तिकैमा क्याम्पस पनि पुगियो, खेल खेलियो र अप्रत्यासित ४-० को जित पनि निकालियो । एक गोल त मैले पनि गरें तर न जितले मलाई खुशी दिन सक्यो न त आफुले गरेको गोलले । केहि दिनसम्म अनेक प्रश्न मनमा खेली नै रहे । केहि दिनसम्म अशान्त नै भएँ म ।
-अनुज पोख्रेल